डोल्पा, मुड्केचुला — डोल्पाको मुड्केचुला गाउँपालिकामा हरित जीवनशैली प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै एक विशेष कार्यक्रम अन्तर्गत स्थानीय कृषक र वन संरक्षणकर्मीहरूलाई प्लास्टिक त्रिपाल र सागसब्जीका बीउ वितरण गरिएको छ।
रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र महिला तथा दलित जाति उत्थान मञ्चको सहकार्यमा सञ्चालित कार्यक्रममा सामुदायिक वन संरक्षणमा सक्रिय १२ जना अभिभावकलाई प्लास्टिक त्रिपाल प्रदान गरिएको हो। यस्तै, वडा नं. १, २, ३ र ५ मा थप ८ वटा त्रिपाल वितरण गरिएको रेड पाण्डा कार्यक्रमका अधिकृत भरत थापाले जानकारी दिए।
थापाका अनुसार, कार्यक्रमको उद्देश्य वनमा निर्भर समुदायलाई वैकल्पिक जीविकोपार्जनका अवसर सिर्जना गर्दै जैविक सम्पदाको संरक्षण गर्नु हो। “समुदायलाई कृषि उत्पादनमा सक्षम बनाएर हामी वनमाथिको निर्भरता घटाउने प्रयासमा छौं,” उनले भने, “यसबाट प्रत्यक्ष रूपमा रेड पाण्डाजस्ता लोपोन्मुख प्रजातिको बासस्थान सुरक्षित गर्न सकिनेछ।”
कार्यक्रमअन्तर्गत स्थानीय कृषकहरूलाई सागसब्जी उत्पादनका लागि उपयुक्त बीउसमेत वितरण गरिएको छ। महिला, दलित र विपन्न वर्गलाई प्राथमिकतामा राख्दै सञ्चालित कार्यक्रममा सहभागीहरूले जैविक खेतीप्रति रुचि बढेको र वन्यजन्तु संरक्षणप्रतिको चेतना विकसित भएको बताएका छन्।
विश्वमै संकटग्रस्त प्रजातिका रूपमा सूचीबद्ध रेड पाण्डा (Ailurus fulgens) कर्णाली प्रदेशका उच्च पहाडी वनहरूमा पाइने दुर्लभ वन्यजन्तु हो। मुड्केचुला गाउँपालिका र वरपरका सामुदायिक वनहरू यस प्रजातिका लागि महत्वपूर्ण बासस्थान मानिन्छ।
स्थानीय अगुवाहरूका अनुसार, जलवायु परिवर्तन र चरनको बढ्दो दबाबका कारण रेड पाण्डाको प्राकृतिक बासस्थान दिन प्रतिदिन जोखिममा पर्दै गएको छ। यस्तो अवस्थामा संरक्षण र समुदायको दिगो विकासलाई सँगै अघि बढाउने प्रयास दीर्घकालीन रूपमा फलदायी हुने विश्वास गरिएको छ।

डोल्पा न्यूज । ३० बैशाख २०८२, मंगलवार २३:०७