विष्णुप्रसाद देवकोटा
डाेल्पा, असार १६ — ठुलीभेरी नगरपालिका वडा नं. ६ थरगाउँलाई पूर्ण सरसफाइ उन्मुख समुदाय (गाउँ) घोषणा गर्ने प्रस्ताव गरिएको छ। स्थानीय सरसफाइ अभियानलाई संस्थागत गर्दै समुदाय स्तरमै स्वच्छता र सार्वजनिक स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले यो प्रस्ताव अघि सारिएको हो।
ठुलीभेरी नगरपालिकाका नगरप्रमुख सुबर्ण कुमार बुढाको नेतृत्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस डोल्पाका कार्यबाहक सभापति लब कुमार शाही, उपप्रमुख छिरिङ टोल्मा महत, वडा अध्यक्षहरु भक्त बहादुर भण्डारी, भिम बहादुर रोकाया, मनराम ठकुल्ला, सुबास कठायत तथा नेपाली कांग्रेसका महासमिति सदस्य चेत कुमार शाही लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा थरगाउँका स्थानीयवासीहरूले नगरप्रमुखसहितको टोलीलाई भव्य स्वागत गरेका थिए। कार्यक्रमले समुदायमा सरसफाइप्रति जागरूकता सिर्जना गर्नुका साथै, सबैको सहभागितामा स्वच्छ र सुरक्षित गाउँ निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको नेतृत्वमा सञ्चालनमा आएका यस्ता पहलहरूले समग्र नगर क्षेत्रलाई सरसफाइमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ।

डोल्पा न्यूज । १६ असार २०८२, सोमबार १८:४३