पुर्ण कुमार/डोल्पा।
खराब मौसमका कारण रुकुम पश्चिममा एकै पटक दुईवटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ९ रंगशालामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र एक सुत्केरी बोकेको सिम्रीक एयर र नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
डोल्पाको त्रीपुरा सुन्दरी नगरपालिका– २ की स्थानीय पदमी बुढाको सुत्केरी भएपछि देखिएको स्वास्थ्यमा समस्याका कारण नेपाली सेनाको ए ६६ नम्बररको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिँदै थियो । गए राति घरमै सुत्केरी भएकी बुढाले दुई जम्ल्याहा छोरी जन्माएकी थिइन् । तर उनको एक छोरीको घरमै मृत्यु भइसकेको उनका श्रीमान धनबहादुर बुढाले जानकारी दिए ।
अहिले सुत्केरी महिलाको आठबिसकोट नगर अस्पतालबाट प्रेम रोकायको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले हेलिकप्टरमै उपचार गरिरहेको छ । स्वास्थ्यकर्मीका अनुसार महिलालाई पलासेन्ट (साल) नझर्ने समस्या देखिएको छ ।
त्यस्तै उपल्लो डोल्पामा १२ वर्ष पछि लाग्ने शेमेलाको अवलोकन र पत्रिव धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा गएका गएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुमपश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ । आज दिउँसो साढे ३ बजेतिर आठबिसकोट नगरपालिका– ९ स्थित रंगशालामा हेलिकप्टर अवतरण भएको हो ।
डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रीक एयरको हेलिकप्टर मौसम खराबका कारण आकस्मिक अवतरण गरिएकोजिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । हेलिकप्टरमा मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीसहित चार जना रहेको बताइएको छ ।
मौसममा सुधार आएमा आजै सुर्खेत उड्ने जनाइएको छ । सुत्केरी महिलालाई भने एम्बुलेन्समार्फत प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको आठबिसकोटका स्वास्थ्य शाखा संयोजक प्रेम रोकायले बताए ।