विष्णुप्रसाद देवकोटा
डोल्पा, जेठ २६ — नेपाल सरकारको सन् २०३० भित्रै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यअनुसार देशका हिमाली जिल्लामध्ये एक, डोल्पामा पहिलो पटक हात्तीपाइले रोग निवारणका लागि तथ्यांक संकलन अभियान सुरु गरिएको छ। यो कार्यक्रम स्वास्थ्य सेवा कार्यालय, डोल्पाको आयोजनामा जिल्लाभरिका दुई नगरपालिका र छ गाउँपालिका, कुल ८ वटा स्थानीय तहमा एकसाथ संचालन गरिएको हो।
गाउँ–नगरका प्रत्येक वडामा घर–घरमै पुगेर स्वास्थ्यकर्मी परिचालन
स्वास्थ्य सेवा विभागबाट जनसंख्याको घनत्वका आधारमा पहिचान गरिएका वडाहरूमा स्वास्थ्यकर्मीहरू घरमै पुगेर हात्तीपाइले रोगका शंकास्पद बिरामीहरूको खोजी तथा विवरण संकलन कार्य गरिरहेका छन्।
जिल्ला जनस्वास्थ्य निरीक्षक दयानन्द गौडका अनुसार निम्न तालिकामा स्वास्थ्यकर्मीहरू परिचालन भएका छन्:
डोल्पो बुद्ध गाउँपालिका – असार १८–२२
शे फोक्सुण्डो गाउँपालिका – असार १२–२२
छार्का ताङसोङ गाउँपालिका – असार १२–२४
मुड्केचुला गाउँपालिका – असार ५–१५
जगदुल्ला गाउँपालिका – जेठ १५–असार ५
काइके गाउँपालिका – असार १२–२३
त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकामा सक्रिय खोजी अभियान
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत ९ वटा वडा (१, २, ३, ४, ६, ७, ८, १०, ११) मा जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा टोलीले घर–घरमा पुगेर तथ्यांक संकलनका साथै बिरामी खोजी कार्य गरिरहेको छ।
यस्तै, ठुलीभेरी नगरपालिकामा भने जेठ २४ देखि जनस्वास्थ्य निरीक्षक राजनकुमार डांगीको नेतृत्वमा तथ्यांक संकलन कार्य प्रारम्भ गरिएको स्वास्थ्य सेवा कार्यालय, डोल्पाले जनाएको छ।
एक दिने अभिमुखीकरण पनि सम्पन्न
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलका अनुसार, स्वास्थ्यकर्मीहरूलाई कार्यक्षेत्रमा सहजता होस् भनेर अभियान अघि एक दिने अभिमुखीकरण तालिम पनि प्रदान गरिएको थियो।
सरकारको लक्ष्यतर्फ डोल्पाको ऐतिहासिक पाइला

हात्तीपाइलेजस्तो दीर्घकालीन असर पार्ने रोग विरुद्ध डोल्पामा सुरु भएको यो प्रथमपटकको औपचारिक कार्यक्रमले स्वास्थ्य क्षेत्रमा नयाँ इतिहास लेख्न थालेको छ। अत्यन्तै विकट भौगोलिक अवस्थाबीच पनि यस किसिमको अभियान चलाउनु आफैमा चुनौतीपूर्ण भए तापनि स्वास्थ्यकर्मीहरूको समर्पण र सरकारको नीतिगत प्रतिबद्धता यो लक्ष्यमा पुग्न दृढ देखिन्छ।

डोल्पा न्यूज । २६ जेष्ठ २०८२, सोमबार १३:१८