सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको बसपार्कको काम करिब २ महिनादेखि रोकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम रोकिएकोले व्यवस्थित रुपमा पार्किङ गर्ने सडकमै टिकट काट्नुपर्ने वाध्यता छ । भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा २८ मंसिर २०७९ मा तामझामका साथ शिलान्यास गरिएको बसपार्कको काम अहिले ठप्प भएको छ । 
यस अघि पनि बसपार्कको काम लामो समयसम्म रोकिएको थियो । ठेकेदार कम्पनीले विगतदेखि नै काम छोड्ने र पुनः गर्ने गरिरहेको छ । बसपार्कको काम फागुन यता ठप्प भएको भेरीगंगा १२ का एक स्थानीयले जानकारी दिए । दुई वर्ष अगाडि बाँकेको ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिे उक्त बसपार्कको जिम्मा लिएको छ । जिम्मा लिएको निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि बसपार्क निर्माणको काम रोकिएको भेरीगंगा नगरपालिकाका सब–इन्जिनियर गणेश कार्कीले जानकारी दिए । उनले बसपार्कको काम केही समय अगाडिदेखि रोकिएको स्वीकार गरे । 
निर्माण व्यवसायी नगरप्रमुख यज्ञ प्रसाद ढकालको सम्पर्कमा आएको हुँदा केही दिनमै काम सुरु हुने आश्वासन उनले देखाए । उनले निर्माण व्यवसायीले कुनै पनि कारण नदेखाई काम छोडेको र अहिले सम्पर्कमा आएको बताए । ‘हामीलाई केही जानकारी नै नदिइँ ठेकेदारले काम छोड्यो तर अहिले मेयरको सम्पर्कमा आएर आउँदो आइतबारदेखि काम गर्छु भनेको छ रे ।,’ उनले द मालिका पोष्टसँग भने । उनकाअनुसार दुई वर्षमा बसपार्कको भौतिक प्रगति ४५ प्रतिशत मात्रै छ ।
अझै पनि बसपार्कको काम धेरै बाँकी भएको हुँदा चालु आर्थिक वर्षमा काम सक्न नसकिने उनको भनाइ छ । ‘काममा अझै धेरै बाँकी छ, यो आवमा काम सक्न निकै चुनौती छ,’ उनले भने, ‘हाम्रो कमजोरीले काम रोकिएको होइन उनीहरु आफै काम छोडेर जान्छन् ।,’ पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ ।
समयक्रम अनुसार नयाँ बस थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ । ‘बजेटको कुनै पनि समस्या छैन्, तर ठेकेदारले विभिन्न बहाना बनाएर काम गरेको छैन् काम भएमा असार मसान्तसम्म काम अन्तिम चरणमा पुग्छ,’ उनले भने, ‘हामीहरुले बारम्बार ताकेता गर्दा पनि ठेकेदारले अटेर गरेको छ ।,’ यस्तै उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोम ढकालले ठेकेदारको लापरबाहीले दुई महिनादेखि निर्माण कार्य रोकिएको बताए ।
‘दुई महिनादेखि काम रोकिएको छ, हामीले धेरै ताकेता ग¥यौँ तर पनि चासो देखाएन्,’ उनले भने, ‘नगरपालिाकालाई ठेक्का तोडेर नयाँ ठेक्का लगाउन आग्रह गर्दा पनि ठेक्का तोडेन् ।,’ ठेकेदारले विभिन्न बहाना देखाएर कामबाट पन्छिन खोजेको उनको भनाइ छ ।‘भोलि भोलि भनेर बहाना देखाउँछ यहाँ खबर बसपार्क नहुँदा निकै सास्ती छ,’उनले भने, ‘सवारी साधन बढिरहेका छन्, जसले बजार अस्तव्यस्त बनेको छ, यो त कर्णालीको प्रवेशद्वार समेत हो ।,’ नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता गरी कुल १० करोड ९५ लाख रुपैयाँको लागतमा उक्त बसपार्कको काम सुरु भएको थियो ।
बसपार्क निर्माणको कार्य ०८१ असार २९ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । तर लामो समय भइसक्दा पनि काम सम्पन्न हुन सकेको छैन् । यस्तै कम्पनीले काम गरेवापतको २ करोड ९७ हजार रकम लिइसकेको छ । तीन तले भवन, तीन वटा गेट, टिकट काउन्टर र विभिन्न पसलहरू सञ्चालन गर्न सकिने गरी बसपार्क निर्माण गर्न थालिएको थियो ।
बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गर्ने गरिएको छ । सडकको दायाँ र बायाँ किनारमा सवारी साधन पार्किङ गरिएका कारण हिँडडुल गर्न अप्ठ्यारो हुने गरेको स्थानीयहरूको गुनासो छ ।

डोल्पा न्यूज । १६ बैशाख २०८२, मंगलवार १३:३३