विष्णुप्रसाद देवकोटा
डोल्पा — ठूलीभेरी नगरपालिकाको केन्द्र जुफालमा खानेपानी तथा पूर्ण सरसफाइसम्बन्धी एक अन्तरक्रियात्मक सरोकारवाला बैठक सम्पन्न भएको छ। नगरप्रमुख श्वर्ण कुमार बुढाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नगरपालिका अन्तर्गतका सम्बन्धित शाखा प्रमुख, सुस्वा कार्यक्रमका प्रतिनिधि, खानेपानी तथा सरसफाइमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा नगर क्षेत्रमा बढ्दो जनसंख्या र शहरीकरणका कारण उत्पन्न सरसफाइ चुनौती, जलस्रोतको दिगो संरक्षण, वितरण प्रणालीको सुधार, र उपभोक्ताको सहभागिता अभिवृद्धि गर्ने विषयमा गहिरो छलफल गरिएको थियो। सरसफाइ र सुरक्षित खानेपानी पहुँचलाई सुनिश्चित गर्न आवश्यक संरचनागत सुधार, नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रस्तावहरू प्रस्तुत गरिए।
नगरका निमित्त प्रशासकीय अधिकृत डिलप्रसाद रोकाया र सुस्वा कार्यक्रम प्रमुख प्रमोदलाल श्रेष्ठले हालसम्म भएका प्रयासहरू र आगामी योजनाको खाका प्रस्तुत गर्दै समुदायसँग सहकार्यमा मात्र दिगो समाधान सम्भव हुनेमा जोड दिनुभयो।
बैठकमा सामुदायिक स्तरमै सरसफाइबारे चेतना जगाउने उद्देश्यले होर्डिङ बोर्ड, फ्लेक्स प्रिन्ट, पोस्टर, पम्पलेट, र स्टिकरजस्ता सामग्रीहरू उत्पादन र वितरण गर्ने निर्णय गरिएको छ। साथै, विद्यालय र टोलस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्दै बालबालिका, महिला समूह र स्थानीय युवालाई सरसफाइ अभियानमा सक्रिय सहभागी गराउने योजना समेत अघि सारिएको छ।
नगरप्रमुख सचिवालयका रेखामान बुढाका अनुसार, सरसफाइ र खानेपानी सेवा व्यवस्थापनले हाल नगरबासीको जीवनस्तरमा ल्याएको सकारात्मक परिवर्तनलाई अझ सुदृढ पार्दै नगरलाई ‘स्वस्थ र स्वच्छ शहर’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रमहरू सञ्चालन गरिनेछ।

डोल्पा न्यूज । २९ बैशाख २०८२, सोमबार ०८:५३