डाेल्पान्यूज डेक्स
काठमाडौँ — प्रतिनिधि सभा सदस्य तथा पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै माथिल्लो डोल्पाको धाेमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आग्रह गर्नुभएको छ। बुधबार गृह मन्त्रालयमा सम्पन्न भेटमा सांसद बुढाले माथिल्लो डोल्पाका नागरिकको सेवामा सहजता ल्याउनका लागि यस्तो पहल गर्न आग्रह गर्नुभएको हो।
सांसद बुढाका अनुसार शे-फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय बासिन्दालाई नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनिक सेवा सजिलै उपलब्ध गराउने उद्देश्यले डोल्पोबुद्ध गाउँपालिका–१ धोमा इलाका प्रशासन कार्यालय स्थापना अपरिहार्य भएको बताउनुभएको छ।
“भौगोलिक दृष्टिले विकट माथिल्लो डोल्पाका नागरिकहरूलाई प्रशासनिक कामका लागि करिब एक साताको पैदल यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता छ,” बुढाले बताउनुभयो, “यसअघि पनि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो मैले गृहमन्त्रीसमक्ष राखें।”
गृहमन्त्री लेखकले माथिल्लो डोल्पाका नागरिकको समस्या गम्भीर भएको उल्लेख गर्दै धोमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि चाँडै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गर्ने प्रतिबद्धता जनाउनुभएको सांसद बुढाले जानकारी दिनुभयो।
त्यस्तै, सांसद बुढाले तल्लो डोल्पाको जगदुल्ला र मुड्केचुलाका लागि स्थापना गरिएको इलाका प्रशासन कार्यालय ‘इल’ बाट प्रविधि, स्रोत–साधन तथा जनशक्ति व्यवस्थापन गरी नियमित सेवा प्रवाह गर्नसमेत गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ।
“डोल्पाका समग्र विकास र नागरिकलाई राज्यको सेवामा पहुँच पुर्याउने हाम्रो प्राथमिकता हो,” बुढाले स्पष्ट पार्नुभयो।