पुर्ण कुमार/ डोल्पा न्युज
९ असोज , डोल्पा:
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पाँच शैयाको आधारभुत अस्पताल शिलान्यास भएको तीन बर्ष बितिसक्दा पनि काम सुरु भएको छैन् ।विस २०७७ मंसिरमा देशभरका ३ सय ९६ स्थानीय तहमा भर्चुवल माध्यामबाट एकै पटक शिलान्यास गरिएका आधारभुत अस्पताल धेरै ठाउँमा निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।
दुर्गम तथा ग्रामिण भेगका जनतालाइ घर आँगनमै चिकित्सक सहितको आधारभुत स्वास्थ्य सेवा दिने उदेश्यका साथ बनाउन लागिएको अस्पताल लामोसमय देखि निर्माणकार्य अलपत्र परेको छ।अस्पताल निर्माण सुरु गर्ने भन्दै दुइ पटक त शिलान्यासनै भयो ।
पहिलो पटक हालको नगर स्वास्थ्य चौकी भएको स्थानमै शिलान्यास गरियो । तर,जग्गा धनीले बिवाद गरेपछि पुनःअर्को पटक वडा नं १ मा पर्ने रल्लीमा तत्कालिन कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाले शिलान्यास गरिन् ।
दुई पटक शिलान्यास भएको अस्पतालको काम तीन बर्ष बितिसक्दा पनि काम सुरुनै नभएपछि सरोकारवालाले चासो राख्न थालेकाछन् ।
बर्षौ देखि अलपत्र परेको अस्पताल निर्माणकालागि सम्बन्धित ब्यवसायिसँग ताकेता गर्न नगर कार्यपालिकामै कुरा उठाउँदा पनि सुनुवाइ नभएको जनप्रतिनिधिहरुनै बताउँछन् ।
जनताको स्वास्थ्य सँग जोडिएको अस्पताल बनाउन ढिलासुस्ती भएको भन्दै धेरै पटक नगर प्रमुख,उपप्रमुख,वडाध्यक्षहरु सहितको कार्यपालिका बैठकमा कुरा राख्दा समेत सुनुवाइ नभएको त्रिपुरासुन्दरी नगरपालिकाका नगर कार्यपालिका सदस्य भक्तमान नेपालीले बताए ।
यसरी पेश्की गएको तीन बर्ष बित्दा पनि निर्माणको नाममा एउटा सिन्का पनि नभाँचिनु सिंगो नगरपालिका र जनप्रतिनिधिको लागि बेइज्जतको कुरा भएको उनको भनाइ छ ।
शिलान्यास भएको तीन बर्ष बितिसक्दा पनि काम सुरु नभएपछि अस्पतालको नाममा जग्गा पास गर्ने जग्गाधनीले शिलानै भत्काएर बाली लगाउन सुरु गरिसकेका छन् ।
अस्पताल बनेर सेवा प्रवाह सुरुहुनु पर्ने ठाउँमा तीन बर्ष देखि मकै,सिमी,चिनो लगायतका अन्नबालीहरु लगाउन लागिएको हो ।
जग्गाको मुअब्जा पनि लिने बाली पनि आफै लगाउने भन्दै रल्लीका स्थानीयले नै बिरोध जनाएका छन् ।
जग्गा दिएको तीन बर्ष बितिसक्दा पनि काम सुरु नभए पछि नगरपालिका जनप्रतिनिधि होइन जग्गा धनीनै आत्तिएका छन् ।
अस्पताल बनाउने कामकालागि जग्गा दिँदा समेत अहिलेसम्म काम सुरु गर्न नसक्नु नगरपालिकाको ठुलो कमजोरी भएको जग्गाधनी बलबित्ते नेपालीले बताए ।
अस्पताल बनेर जनताले स्वास्थ्य सेवा पाउने बेला कामको नाममा सिन्को नभाँचिएको उनको भनाइ छ ।
यता नगर स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले नगरपालिकामा एउटा आधारभुत अस्पताल अत्यावश्यक रहेको बताएका छन् ।
अस्पताल नहुँदा सामान्य जाँचकालागि पनि समय र पैसा दुबै खर्च गरेर सदरमुकाम दुनै जानुपर्ने अवस्था नगरबासीलाइ रहेको उनको भनाइ छ ।
नगरपालिका भित्र अस्पताल बनेर सेवा सुरुहुनु पर्ने बेला शिलान्यास भएको तीन बर्ष बित्दा पनि काम सुरु नहुनु राम्रो संकेत नभएकाले तत्काल काम सुरु गर्न उनले आग्रह गरे ।
पेश्की लिएको साठी लाख रकम कहाँ गयो ?
आधारभुत अस्पताल निर्माण गर्ने भन्दै ३ करोड ५७ लाख ६६ हजार दुई सय उनान्तीस रकममा रेलिगेर बुद्ध हिमाली जेभीले निर्माणको जिम्मा लियो ।
पाँच शैयाको अस्पताल निर्माणकालागि २०७८/०२/२४ गते त्रिपुरासुन्दी नगरपालिका र निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।सम्झौता अनुसार २०८०/०७/३१ गते सम्ममा अस्पताल निर्माणको काम सक्नु पर्ने हो ।तर,हालसम्म कामनै सुरु गरिएको छैन् ।
सम्झौता भएको एक महिना पछि २०७८/०३/३१ गते तत्काल काम सुरु गर्ने भन्दै निर्माण ब्यवसायि जनक केसीलाइ नगरपालिकाले साठी लाख पेश्की दियो ।तर,पेश्की दिएको तीन बर्ष बितिसक्दा समेत निर्माण कार्य सुरु भएको छैन।
आधारभुत अस्पताल निर्माणमा अहिलेका नगर प्रमुख जनचन्द्र रोकाय लगायतका जनप्रतिनिधिले चासो नदिएकै कारण निर्माणकार्य अलपत्र परेको नगरपालिका स्रोत बताउँछ ।
आधारभुत अस्पतालको शिलान्यास अघिल्लो कार्यकालमा भएकाले पनि आफ्नो कार्यकालमा नभएको भन्दै नगर प्रमुख रोकायले चासो नदिएको बताइन्छ ।
यस बिषयमा नगर प्रमुख जनचन्द्र रोकायलाइ बुझ्दा अस्पताल निर्माणमा ढिलाइ भएको स्विकार गरे ।
पन्ध्र शैयाको अस्पताल निर्माण गर्नुपर्नेमा पाँच शैयाको अस्पतालको डिपिआर भएपछि काम सुरु हुन नसकेको उनले बताए ।
पेश्की बाफत लिएको साठी लाख रकम प्रतिशत हर्जाना सहित फिर्ता गर्न ताकेता गरिएको समेत बताए ।
रेलिगेर बुद्ध हिमालीसँग सम्झौता भएको ठेक्का एक बर्ष अघि २०७९/०८/१३ गतेनै तोडि सकिएको र तत्काल पेश्की असुलकालागि छलफल समेत भइसकेको उनको भनाइ छ ।अब छिट्टै नयाँ ठेक्का खोलेर निर्माणकार्य सुरु गर्ने उनको भनाइ छ ।
यस बिषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा प्रन्ध्र शैयाको अस्पताल बनाउनकालागि बजेट पठाउँदा पनि पाँच शैयाको ठेक्का खोल्नु नगरपालिकाको प्राविधिक कमजोरी भएको ढिलासुस्तीको जिम्मेवारी पनि उसैले लिनुपर्ने बताएको छ ।
के भन्छन् निर्माण ब्यवसायि जनक केसी?
तीन बर्ष अघि रेलिगेर बुद्ध हिमाली जेभीको नाममा साठी लाख पेश्की रकम लिएका निर्माण ब्यवसायि जनक केसीले नगरपालिकाकै कमजोरीका कारण आफुले काम गर्न नसकेको बताए ।
‘पन्ध्र शैयाको डिपिआर बनाउनु पर्नेमा पाँच शैयाको बनाएर ठेक्का खोल्नु नगरपालिकाको प्रमुख गल्ती हो,मैले काम गर्छु भनेर एक्साभेटर लगायतका निर्माण सामाग्री समेत तयार पारेको थिए तर,नगरपालिकाले काम गर्न दिएन्’केसीले भने ।
‘नगर कार्यपालिकाको निर्णय गरेर आफुले लिएको साठी लाख पेश्कीको अन्य कुनै काम गरेर फर्सौट गर्ने भनियो तर,कहाँ गर्ने के गर्ने भनेर भनिएन्,यसमा मेरो गल्ती छैन्,म काम गर्न सधै तयार भएको छु ।’
ठेक्का तोडेको एक बर्ष बितिसक्दा पनि आफुलाइ थाहा नभएको ब्यवसायि केसीको भनाइ छ ।
प्रतिस्पर्धाबाट लिएको ठेक्का आफुलाइ जानकारी नगराइ ठेक्का तोड्नु गलत भएको उनले बताए ।
काम सुरु गर्न अनुमति दिन भन्दै बारम्बार निर्माण कम्पनीबाट चिठिलेख्दा पनि चासो नदिएकाले अब दुई तीन महिना भित्रमा टुंगो नलगाएमा आफ्नो हिसाबमा काम सुरु गर्ने उनको भनाइ छ ।
जग्गाधनीलाइ बाँडियो चालिस लाख
आधारभुत अस्पताल निर्माणकालागि वडा नं १ मा पर्ने रल्लीमा जग्गा समेत जुटाइ सकिएको छ । पाँच घरधुरीले जग्गा अस्पतालकामा नाममा पास समेत गरिसेकाछन् ।
जग्गा उपलब्ध गराए बाफत नगरपालिकाले झण्डै ३६ लाख रकम बाँडि सकिएको निर्वतमान नगर उप प्रमुख चन्द्रकुमारी बुढाका सल्लाहकार शेर बहादुर बुढाले बताए ।
त्यसबेलानै अस्पताल निर्माणको सम्पुर्ण प्रक्रिया टुंगीएपनि हालसम्म पनि काम सुरुहुन नसक्नु दुखत भएको उनको भनाइ छ ।
महालेखाको समेत ताकेता
आधारभुत अस्पताल निर्माणको नाममा तिन बर्ष अघि दिएको साठी लाख पेश्की निर्माण ब्यवसायिले अझै फर्सौट नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयले समेत ताकेता गरिरहेको छ ।
प्रत्येक बर्ष आर्थिक बर्षको समाप्ती पछिहुने लेखा परिक्षण प्रतिवेदनमा समेत दश प्रतिशत अतिरिक्त रकम सहित असुल उपर गर्नुपर्ने कुरा उल्लेख गर्दै आएको छ ।
उक्त रकमले नगरपालिकाको बेरुजु समेत प्रत्येक बर्ष थप भइरहेकाले जतिसक्दो छिटो असुल गर्न महालेखाले ताकेता गरेको हो ।
तीन तीन बर्ष सम्म यति ठुलो रकम निर्माणका नाममा लिएर काम सुरुनै नहुनु कानुनी रुपमा प्रश्न खडाहुनुका साथै जनप्रतिनिधिको ठुलो कमजोरी रहेको नगररपालिकाले जनाएको छ ।