ताजा समाचार

एक फेसबुक पोस्टले बदलियो ६० नानीबाबुको अनुहार,डा. उपाध्यायद्वारा शैक्षिक सामग्री वितरण

विष्णुप्रसाद देवकोटा

“बाबु, अब स्कूल जान जुत्ता लाउनु परेन र नि?” यो प्रश्न कुम्लीस्थित मान्मा आधारभूत विद्यालयकी एक नानीले आफ्नी आमालाई सोधेकी थिइन् — त्यो दिन, जब उनीहरूले पहिलोपटक आफ्नो नाममा नयाँ जुत्ता, मोजा र कापी–कलम पाए।

२०८२ जेठ ३ गतेको त्यो बिहान कुम्लीको मान्मा आधारभूत विद्यालय केही विशेष बन्यो। विद्यालयमा कक्षा ५ सम्म पढ्ने ६० जना नानीबाबुहरूको अनुहार खुसीले उज्यालो थियो। कारण थियो उनीहरूलाई पहिलोपटक एकैचोटि नयाँ जुत्ता, मोजा, कापी र कलम हात पर्‍यो।कक्षा ५ मा अध्यायनरत काजल भण्डारी र अन्जली मिजारले एकै साथ एकै स्वरमा भन्नू भयाे ” अब हामीलाई कापि कलम जुत्ता र माेजाकाे अभावले तडपिनु पर्ने छैन ।

यो सानो परिवर्तनको सुरुवात फेसबुकको एउटा पोस्टबाट भएको थियो। विद्यालयका शिक्षक जयकृष्ण हमालले केही महिना अघि सामाजिक सञ्जालमा विद्यालयको अवस्था देखाउँदै केही तस्बिरहरू साझा गर्नु भएकाे थियाे ।

ओढ्ने बिछ्याउने जस्ता कपडामा खुट्टा छोपी पढिरहेकी बालिका, पुराना चप्पल लगाएर विद्यालय आइरहेका नानीहरू, र त्यही पुरानो तर जीवित सपना बोकेको एउटा विद्यालय।यही पोस्टले छोयो डा. अखण्ड उपाध्यायको मन।”पहिलोपटक त्यहाँ पुगेको बेलामा म आफूलाई रोक्न सकिनँ,” डा. उपाध्याय भन्नु हुन्छ, “एक्लैले केही गर्न सक्दिन जस्तो लाग्यो।

त्यसैले केही रकम आफैंले जोहो गरेँ अनि बाँकी सहयोगको लागि सामाजिक सञ्जालमा अपील गरें। विश्वास गर्नुहोस् — ममाथि विश्वास गरेर ८० हजार ६५६ रुपैयाँ सहयोग आयो। त्यो रकमले नै आज यी नानीबाबुहरूलाई कापी, कलम, जुत्ता र मोजा दिने अवसर मिल्यो।”

कार्यक्रमको आयोजना विद्यालयमै गरिएको थियो, जहाँ व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद रोकायाको अध्यक्षता र वडा अध्यक्ष कमलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता थियो। तर सबैभन्दा ठूलो आतिथ्य नानीबाबुहरूको अनुहारमा देखिएको आशाको मुस्कान थियो।

डा. उपाध्यायका अनुसार त्यहाँका धेरैजसो विद्यार्थीहरू दलित समुदायका हुन्। धेरैका बाबुआमा दाउरा बेचेर छाक टार्छन्, नुन किन्नलाई ऋण गर्नुपर्छ। त्यस्तो अवस्थामा बच्चालाई कापी–कलम किनिदिने कुरा त कहिलेकाहीँ सपना जस्तै लाग्छ।

“मैले सोचेँ — कापी कलम एक वर्ष पुग्ने गरी दिएँ भने, सानोतिनो भए पनि सघाउ होला,” उहा भन्नू हुन्छ , “यति भए पनि आमाबुबाले भनिदिन सक्लान्, ‘ल अब पढ् बाबु, कापी छ तेरो।’”

विद्यालयका शिक्षक जयकृष्ण हमाल मनकारीहरुवाट प्राप्त सहयाेग राम्राे रहेकाे अबकाे एक वर्षसम्म कापिकलम जुत्ता किन्नु नपर्ने भएकाले अभिभावकलाई राहत पुगेकाे बताउनु भयाे ।

विद्यालयका शिक्षकहरूले अबदेखि बच्चाहरूले कापी सकाएर ल्याएमा नयाँ कापी उपलब्ध गराउने व्यवस्था मिलाएका छन् — ताकि बालबालिकाको पढाइ कहिल्यै कापीको अभावमा नरोकोस्।

यस सानो प्रयासले देखाएको मुस्कान आज विद्यालयभरिको ऊर्जा बन्यो। डा. उपाध्याय भन्नु हुन्छ, “म एक्लैले गर्न नसकेको कुरा, सयौँ मनहरूको विश्वासले सम्भव बनायो। यो यात्राको सबैभन्दा ठूलो पुरस्कार भनेको ती नानीबाबुहरूको ‘धन्यवाद’ भन्दा अगाडि आएको एउटा साच्चैको मुस्कान हो।”विद्यालय परिवारवाट शैक्षिक सामाग्री जाेहाे गर्ने जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डा. उपाध्यायलाई फुलमाला अविर टीका लगाएर भब्य सम्मान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया