डाेल्पा,जेष्ठ २१ गते। संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि हिमाली जिल्ला डोल्पाका विभिन्न स्थानीय तहहरूलाई झन्डै रु २ अर्ब बराबरको अन्तरसरकारी वित्तीय अनुदान प्रदान गर्ने निर्णय गरेको छ। संघीय बजेटमार्फत डोल्पाका ८ वटै स्थानीय तहहरूलाई कूल रु १ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको हो।
स्थानीय तहहरूलाई प्राप्त अनुदानको विवरण हेर्दा ठूलो भागको हिस्सा ठुलीभेरी नगरपालिकाले पाएको देखिन्छ। यस नगरपालिकालाई कुल रु ३७ करोड ८८ लाख उपलब्ध गराइएको छ। त्यसपछि त्रिपुरासुन्दरी नगरपालिका दोस्रो स्थानमा पर्दै रु ३६ करोड ९२ लाख प्राप्त गरेको छ।
अन्य स्थानीय तहहरूमा अनुदान यसप्रकार रहेको छ:
मुड्केचुला गाउँपालिका – रु २४ करोड ५४ लाख
जगदुल्ला गाउँपालिका – रु २२ करोड ४५ लाख
शे-फोक्सुन्डो गाउँपालिका – रु २२ करोड ४१ लाख
काइके गाउँपालिका – रु १९ करोड ६२ लाख
छार्का ताङसोङ गाउँपालिका – रु १९ करोड ३४ लाख
डोल्पो बुद्ध गाउँपालिका – रु १६ करोड ५३ लाख (सर्वाधिक न्यून)
प्राप्त अनुदान रकम शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायतका स्थानीय प्राथमिकता प्राप्त क्षेत्रहरूमा उपयोग गरिने सरकारी योजना छ।
साथै, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक राजस्व र चालु आर्थिक वर्षको बचत बजेटलाई समेट्दै स्थानीय तहहरूले आगामी असार महिनामा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ।

डोल्पा न्यूज । २१ जेष्ठ २०८२, बुधबार ०९:०३