ताजा समाचार

त्रिपुरासुन्दरीकाे रल्ली गाउँमा महिलाहरू लक्षित नौमती बाजा प्रशिक्षण सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा, त्रिपुरासुन्दरी – कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सहयोगमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१,  रल्ली गाउँका महिला दिदीबहिनीहरूलाई लक्षित गरी आयोजित ३० दिने नौमती बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

परम्परा तथा रैथाने सीप विकास कार्यक्रम अन्तरगत सञ्चालित उक्त तालिम सामाजिक विकास तथा प्रकृति संरक्षण नेपालको आयोजनामा सम्पन्न भएको हो। डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका केन्द्र बगरमा एक विशेष समारोहबीच तालिम समापन तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा हराउँदै गएको परम्परागत रैथाने कला–संस्कृतिको संरक्षण गर्नुका साथै महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने रहेको आयोजक संस्थाले जनाएको छ। महिलाहरूलाई नौमती बाजाजस्तो सांस्कृतिक धरोहरको संरक्षणसँगै सीप विकासद्वारा आयआर्जनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

समापन कार्यक्रममा सामाजिक विकास केन्द्रका अध्यक्ष जयन्न्द उपाध्यायको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख स्याम रोकायाको प्रमुख आतिथ्यता तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै, सामाजिक विकास अधिकृत दुर्गा बिष्ट, सामाजिक लेखा अधिकृत राजकुमार केसीलगायत जनप्रतिनिधिहरूको उपस्थिति पनि रहेको थियो।

तपाईको प्रतिक्रिया