सुर्खेत:राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको दोश्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रबार सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु स्थित महल बैंक्वेटको सभाहलमा कर्णाली प्रदेश सरकारका आर्थिक, मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको प्रमुख आतिथ्यमा लोकतन्त्रको मूल आधार समान सहभागिता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज भन्ने मुल नारा सहित कर्णाली प्रदेशको दोश्रो अधिवेशन सम्पन्न भएको छ। 
दोश्रो अधिवेशनले भीम बहादुर परियारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ। अध्यक्षमा परियार सगै उपाध्यक्षमा कर्ण विक, यज्ञ बहादुर तीरुवा, सचिवमा मालती विक, स. सचिवमा प्रेम सुनार, कोषाध्यक्षमा तुलबिर गन्धर्व, सदस्यहरुमा सल्यान देखि खेमराज सुनार, डोल्पा देखि पुर्ण सार्की, सुर्खेत देखि,जीत बहादुर तिरुवा , दैलेख देखि हिमेन्द्र विक , जुम्ला देखि विबेन्द्र विक , हुम्ला देखि अंगराज परियार , जाजरकोट देखि तेज विक , कालिकोट देखि भानुभक्त विक सदस्य निर्विरोध चयन भएका छन्। रुकुम पश्चिम र मुगु देखि भने एक एक जना सदस्य मनोनित गर्न बाँकी रहेको छ। 
अधिवेशनका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सरकारका आर्थिक, मामिला तथा योजना मन्त्री शाहले दलित अधिकारको लागि संघठन निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने ” दलित पत्रकारहरुको क्षमता विकास गर्न जरुरी छ। त्यसको लागि कर्णाली प्रदेश सरकारको तर्फ बाट आफुले सक्दो सहयोग गर्ने छु”। 
नयाँ बन्ने पदाधिकारीले दलितका पीडाहरुलाई संकल्प गर्ने अपेक्षा रहेको कर्णाली प्रदेश सरकारका निवर्तमान मन्त्री रणसिङ परियारले बताए। उनले भने ” अबको नयाँ चयन हुने नेतृत्वले दलितका आवाजलाई समग्र रूपमा लेख्ने काम गर्ने छ। दलितका लागि बोल्ने संघठन भनेकै यो संघठन हो र दलितका आवाजका लागि यो संघठन एकदमै आवश्यक छ “। 
कार्यक्रमका विशेष अतिथि तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले यो संघठन भित्रका सबै सदस्यहरू शसक्त ढंगले लाग्नु पर्ने बताए। उनले भने”संघठनले दलित सञ्चारकर्मीको उत्पादनमा जोड दिनु पर्ने छ। हामीले एक अर्काको राजनीतिक आस्थालाई अलि पर राखी सिंगो दलित समुदायको लागि खटेर लाग्नु पर्ने छ”।

कार्यक्रममा मन्त्री शाह, पुर्व मन्त्री परियार, केन्द्रीय अध्यक्ष पहाडी , महासचिव लक्ष्मण दर्नाल, कोषाध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश शाखाका उपाध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टरका उप महासचिव दीपेन्द्र शर्मा, भेरीगंगा, लेकबेशी, गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल, केन्द्रीय उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा , लुम्बिनी प्रदेश सदस्य कुशल दलामी, कर्णालीका केही जिल्लाका जिल्ला अध्यक्ष र प्रदेश प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

डोल्पा न्यूज । ९ चैत्र २०८१, शनिबार १५:२९