ताजा समाचार

डाेल्पाकाे छलगाड खोलामा भीषण बाढी, व्यापक भौतिक क्षति

डोल्पा, साउन २९ गते । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित छलगाड खोलामा बिहीबार दिउँसो आएको आकस्मिक भीषण बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। मानवीय क्षति नभए पनि बाढीले संरचना, बाली, पुल र तटबन्धन बगाउँदा स्थानीयवासी त्रसित बनेका छन्।

अचानक उर्लिएको बाढीले नदी किनारका बस्ती, खेतबारी र भौतिक पूर्वाधारमा व्यापक असर पुर्‍याएको छ। भलाया डाँडा (जोइखोर) मा निर्मित दुई कोठे गोठसहित त्यहाँ राखिएको एक ट्याक्टर बगाएको छ।

त्यस्तै, बाढीले छलगाड लघु जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा कटान गर्दा विद्युत आपूर्ति अवरुद्ध भएको छ। विद्युत आपूर्ति बन्द हुँदा ३५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अपरेटर कमल हमालले डोल्पान्युजलाई जानकारी दिए।

खोलामा रहेका दुईवटा पानी घट्टका बाँधसमेत बाढीले कटान गरेको छ। साथै, त्रिपुराकोटस्थित दलित बस्ती संरक्षणका लागि निर्माण गरिएका तटबन्धन, काठे पुल र बाली लगाइएका जग्गामा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया