विष्णुप्रसाद देवकोटा 
डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा करिब १ करोड ३६ लाख रुपैयाँको लगानीमा पहिलोपटक मन्जुश्री ब्याडमिन्टन कभर्डहल सञ्चालनमा आएको छ। निजी लगानीमा स्थापित यो कभर्डहलले जिल्लामा व्यवस्थित खेल पूर्वाधार अभावको अवस्थामा नयाँ आशा बोकेको छ।
सञ्चालक मनोज़ बोहोराका अनुसार कभर्डहलबाट हाल वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानी भइरहेको छ। तीन जना स्टाफ नियुक्त गरिएकाेमा प्रतिव्यक्ति २० हजार मासिक पारिश्रमिकसहित कुल ६० हजार रुपैयाँ मासिक खर्च रहेको छ। “खेलप्रति युवाहरुको मोह बढ्दो छ, जुवातासमा कमी आएको छ, कभर्डहलले स्वस्थ जीवनशैलीमा पनि टेवा पुर्याएको छ,” सञ्चालक बोहोरा भन्छन्।
कोभिड महामारीपछि काठमाडौँमै अभ्यास गरेका बोहोराले डेढ लाख मूल्य पर्ने र्याकेट बनाउने मेसिन पनि ल्याएका छन्। दीर्घकालीन रूपमा कभर्डहलको नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा उनी निरन्तर जुटिरहेका छन्।
डोल्पा जिल्लामा हालसम्म कुनै पनि सरकारी वा निजी कभर्डहलको अभाव रहेको अवस्थामा निजी पहलमा सञ्चालनमा आएको यस परियोजनाले जिल्लामा खेलकुदको विकासलाई नयाँ गति दिने विश्वास गरिएको छ। विशेषगरी ब्याडमिन्टन खेलप्रति आकर्षण बढिरहेकाले यसको प्रवर्द्धनमा यो कभर्डहल मोडल केन्द्र बन्ने संकेत देखिएको छ।
“साना प्रयासहरू नै स्थानीय विकासको ठूलो जग हो,” सञ्चालक मनोज बोहोरा भन्छन्, “हामीजस्ता युवाहरूको पहललाई राज्यले पनि प्रेरणा र साथ दिनुपर्छ।ठुलिभेरीनगरपालिका नगरप्रमुख श्वर्ण बुढा हिमाली जिल्ला जस्ताे विकट ठाउँमा यति सम्मकाे सुरुवात हुनु खेलप्रेमिकाे लागि नयाँ उर्जा भएकाे बताउँछन् ।उनी थप्छन यसले डाेल्पा भुमिमा जन्मेका नवयुवाहरुलाई कुशल खेलाडी बन्ने कार्यमा सहयाेग पुर्याउने छ ।
यदि स्थानीय सरकार वा प्रदेश सरकारले यस्ता पहलहरूलाई प्रोत्साहन र सहयोग पुर्याएमा डोल्पामा थप खेल पूर्वाधार बन्न सक्ने सम्भावना छ।यसले पर्यटन र प्रशिक्षण केन्द्रका रूपमा समेत विकास हुने सम्भावना बोकेको छ।”यतिखेर जिल्लाकाे इतिहासमै पहिलाे पटक संचालनमा ल्याइएकाे ब्याटमिन्टन कभर्डहल जिल्लास्थित तहका सुरक्षा निकायका प्रतिनिधि जनप्रतिनिधि देखि कार्यालय प्रमुख र खेल प्रमिहरुकाे लागि आकर्षणकाे केन्द्र विन्दु बन्दै गएकाे छ ।


डोल्पा न्यूज । ३२ असार २०८२, बुधबार १८:०९