विष्णुप्रसाद देवकोटा
डोल्पा — डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा सञ्चालित दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट कुल ४३४ जना नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
स्वास्थ्य सेवा कार्यालय डोल्पा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा २९६ जना महिला र १३८ जना पुरुषले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये ५० वर्षभन्दा माथिका महिलाको संख्या ४५ र पुरुषको संख्या १८ रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा जिल्ला अस्पतालका चिकित्सक डा. सिजन रावलले जानकारी दिनुभयो।
जनस्वास्थ्य अभियान अन्तर्गत सञ्चालन गरिएको शिविरमा छाला, आँखासम्बन्धी समस्या, दन्त रोग, पेट तथा छातीसम्बन्धी परीक्षणसँगै भिडियो एक्सरे सेवासमेत प्रदान गरिएको थियो।
दुई दिनसम्म सञ्चालन भएको यस शिविरमा त्रिपुरासुन्दरी नगरपालिका मात्र नभई डोल्पा जिल्लाका विभिन्न स्थानका बासिन्दाले पनि सेवा प्राप्त गरेका थिए। जिल्ला अस्पताल डोल्पाका डा. सिजन रावल, डा. अजय पाण्डे लगायत KAHS बाट आएका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडका अनुसार कुल ४३८ जनाले विविध परीक्षणसहितको सेवा लिएका थिए।

डोल्पा न्यूज । २६ जेष्ठ २०८२, सोमबार २२:०८