विष्णुप्रसाद देवकोटा 
डोल्पा ।एक समय थियो, जब डोल्पाको उच्च हिमाली भेगमा रहेका गाउँहरूमा पानीको मुहान जीवनको मुटुजस्तै हुन्थे । कुलोमार्फत सदियौँदेखि सिँचाइ हुँदै आएका खेतबारी आज भने जीवनदायिनी पानीका थोपा झिक्न ४० मि.मि.को पाइप र साना पोखरीको भर पर्न बाध्य छन् ।
डोल्पाको परम्परागत सिँचाइ प्रणाली अब इतिहास बन्न थालेको छ । तस्बिरमा देखिएको पुरानो कुलो सुक्दै गएको छ भने नजिकै बनाइएको सानो पोखरीले संकटको गहिरो संकेत गर्छ – यो जलवायु परिवर्तनको कठोर यथार्थ हो, जसलाई यहाँका जनसामुदायले प्रत्यक्ष भोगिरहेकाे -फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेनकाे भनाई छ ।
कथा अझ पीडादायक छ। एक समयमा अन्न फलाउँथे ती जमिनले, आज भने मौन छ – बाँझो, सुख्खा र ओइलिएको। ती बाँझिएका खेतहरू पानीको चरम अभावका साक्षी हुन् ।
जलवायु परिवर्तनको प्रभाव अब तथ्यांक र रिपोर्टको विषय मात्र रहेन, डोल्पा जस्ता हिमाली भूभागमा यो जीवनशैलीमै प्रहार गर्दैछ। परम्परागत खेती, खाद्य सुरक्षाको आधार, र जीविकोपार्जनको स्रोत खुम्चिँदै जाँदा यहाँका बासिन्दा अस्तित्वकै सङ्घर्षमा उत्रिन बाध्य छन्।
साना पाइप
 र सुक्दै गरेका पोखरीहरूले न त अघिल्लो पुस्ताले देखेको हरियाली फर्काउन सक्छन्, न त भावी पुस्ताको जीवन सम्हाल्न । यदि समयमै दीर्घकालीन र सामुदायिक समाधानतर्फ सरकार र सरोकारवाला निकायहरूको ध्यान गएन भने डोल्पाका यी बाँझो जग्गाहरू जलवायु अन्यायको स्थायी प्रतीक बन्ने खतरा प्रस्ट देखिन्छ।हिमाली जिल्ला डाेल्पाका उच्च क्षेत्रमा मात्र हाेइन मध्य र तल्लाे डाेल्पामा पनि जलवायु परिवर्तनको असर झांगिदै गएकाे छ ।जलवायु परिवर्तनको नाममा थुप्रै गैह्र सरकारी संस्थाहरुले कागजी रुपमा बजेट सकाउने गरेपनि समुदायलाई खासै परिवर्तन र जागरुक बनाउन भने सकेकाे छैन यस तर्फ सम्बन्धित निकायकाे ध्यान कहिले पुग्ला ?

डोल्पा न्यूज । ७ असार २०८२, शनिबार १९:४१