ताजा समाचार

मुड्केचुला र जगदुल्ला जाेड्ने सडक खण्डमा पर्ने त्रिवेणीमा चट्टानी भिरकाे ब्लाष्टिङ कार्य शुरु

डाेल्पा,पुस ४ गते । मुड्केचुला  र जगदुल्ला गाउँपालिकालाई भेरिकरिडाेरसंग जाेड्ने गरि जाजरकोट रुकुम र डाेल्पाकाे त्रिसांध त्रिवेणीहुँदै कालिका तर्फकाे सडक निर्माणकाे लागि कडाचट्टानी भिर कटिङकाे काम शुरु भएकाे छ ।जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडकाेद्वारा निर्माणधीन १०६ मेगावाटको जगदुल्ला अर्ध-जलाशययूक्त जलविद्युत आयाेजना  निर्माणकार्यलाई मुर्तरुप दिने गरि त्रिवेणी देखि हार्डकटिङकाे काम सुरु गरिएको हाे।नेपाली सेनाकाे दक्ष जनशक्तिकाे प्रत्यक्ष निगरानीमा ब्लाष्टिङ कार्यकाे काम सुरु गरिएकाे हाे ।

त्रिवेणी देखि हाइड्रोपावर स्टेसन रहने ईल गाउँ सम्मकाे क्षेत्रमा पर्ने सडक खण्डकाे  निर्माण कार्य यसअघिनै भैसकेको छ। त्रिवेणी देखि ईल सम्म विभिन्न स्थानमा कडा चटान भएकाे कारण ब्लास्टिङकाे लागि विभिन्न प्रक्रिया पूरा गरि पुस ३ देखि कडाचट्टानी भिरकाे बलाष्टिङ कार्य सुरु भएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए ।

निर्देशक सापकोटाका अनुसार जगदुल्ला हाइड्रोपावर सम्म सडक मार्गकाे पहुँच  छिटो पुर्याउनकाे लागि भिर ब्लास्टिङकाे काम भैरहेकाे साथै मुड्केचुला र जगदुल्ला गाउँपालिकाकाे विभिन्न ९ वटा स्थानमा बेलिब्रिज निर्माणकाे लागि स्थानीय सरकारसंग समन्वय गरि निर्माणकाे काम समेत कार्य  सुरु गरिनेछ।

त्रिवेणी देखि जगदुल्ला हाइड्रोपावर सम्मकाे ब्लास्टिङकाे जिम्मा शेर्पा हाइड्रो निर्माण कम्पनीले लिएकाे छ। हाल १०६ मेगावाटको जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत आयाेजनाकाे पुर्व तयारीका कामहरु भैरहेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड कार्यालयले जनाएको छ । सडक निर्माण भएपछि  जगदुल्ला हाइड्रो निर्माण कार्यलाई तिब्रता दिन सहयाेग पुग्नुका साथै  स्थानीय बासिन्दालाई  आवतजावतमा समेत सहज हुनेछ।

तपाईको प्रतिक्रिया