डोल्पामा आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा उद्दार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलद्वारा कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ। लामो समयदेखिको खडेरीका कारण आगलागीका घटनामा वृद्धि भइरहेकाले घटनाको नियन्त्रण र उद्धार प्रक्रियालाई प्रभावकारी बनाउन यो अभ्यास गरिएको हो।
७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सदरमुकाम दुनैस्थित जिल्ला समन्वय समितिको प्रांगणमा सशस्त्र प्रहरी बल नेपाल, ४६ नम्बर गुल्म, डोल्पाले आगलागी नियन्त्रण तथा उद्दारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेको हो।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको धारणा
पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्, जसले धनजनको ठूलो क्षति पुर्याउन सक्छ। यस्ता घटनामा घाइतेहरूको तत्काल उपचार आवश्यक हुन्छ। पेट्रोलियम पदार्थ तथा ग्यासको असुरक्षित भण्डारण र मापदण्ड विपरीत विक्री–वितरणका कारण आगलागीको जोखिम झन् बढेको छ। यस्तो जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सचेतना अत्यावश्यक छ।
समन्वय प्रमुख श्याम बहादुर रोकायाको भनाइ
विपद् संकेत दिएर आउने कुरा हुँदैन, त्यसैले पूर्वसावधानी आवश्यक छ। हाल समुदायस्तरमा जनचेतनाको अभाव देखिएको छ, जसलाई सम्बोधन गर्न स्थानीय तहसम्म पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। विगतमा आगलागीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइसकेको अनुभव छ। हाल डढेलो तथा आगलागीको जोखिम उच्च भएकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरू
कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया प्रमुख अतिथि रहेका थिए। प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, नेपाली सेना संग्राम शार्दुल गुल्म सुलिगाडका सेनानी पुष्कर बहादुर चन्द, प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी, सशस्त्र प्रहरी बल नं. ४६ डोल्पाका प्रहरी नायब उपरीक्षक भुवन अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय डोल्पाका प्रमुख मेघराज कंडेल लगायत विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विपद् व्यवस्थापनका लागि गरिएको यो अभ्यासले आगलागी नियन्त्रण तथा उद्दार प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।सशस्त्र प्रहरी बलकाे कृत्रिम नमुना अभ्यास प्रदर्शनी पुर्व नेपाल प्रहरी नेवाली सेना जिल्लास्थित कार्यालय प्रमुख राजनीतिक दलका प्रतिनिधि संचारकर्मी र सर्वसाधारण सहितकाे र्यालीले दुनैबजार परिक्रमा गर्नुका साथै दुनै बजार सरसफाइ समेत गरेकाे थियाे ।