दीर्घ शाही:डोल्पा— डोल्पाको मुड्केचुला गाउँपालिका–५, सुरमा डढेलो नियन्त्रण र न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पा र जिल्ला वन कार्यालय डोल्पाको संयुक्त पहलमा सञ्चालन भएको कार्यक्रमले स्थानीय तहमा डढेलोसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
वडा अध्यक्ष इच्छ बहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, युवाक्लबका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूसँग डढेलो नियन्त्रणका उपाय, कानुनी व्यवस्था र समुदायको भूमिका विषयमा अन्तरक्रिया गरिएको थियो।
अस्थायी प्रहरी चौकीका ईन्चार्ज गंगा बहादुर चन्दले डढेलोसम्बन्धी कानुनी प्रावधानहरू तथा सचेतनामूलक कार्यक्रमका उद्देश्यबारे विस्तृत जानकारी गराएका थिए। उनका अनुसार, सानोतिनो असावधानीबाट सुरु हुने डढेलोले ठूलो वन क्षेत्र नष्ट गर्नुका साथै मानव जीवनमा समेत खतरा पुर्याउने भएकाले सबैले सजग रहनु आवश्यक छ।
वडा अध्यक्ष शाहीले समुदायमा प्रत्यक्ष रूपमा पुगेर सचेतना फैलाउने प्रहरी र वन कार्यालयको प्रयासको प्रशंसा गर्दै यस्तो खालको कार्यक्रमले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रममा जिल्ला वन कार्यालयले तयार गरेको डढेलोसम्बन्धी हाते पुस्तिका पनि वितरण गरिएको थियो, जसले स्थानीय बासिन्दालाई व्यवहारिक उपाय सिकाउने अपेक्षा गरिएको छ।