डाेल्पान्युज
डोल्पा। हिमाली जिल्ला डोल्पामा अवैध रूपमा शिलाजीत सङ्कलन गर्दै गरेका तीन जना स्थानीय पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित ढेकुयान इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ।
रिग्मोस्थित अस्थायी सुरक्षा पोस्टबाट विहिवार पोष्टराज काफ्लेको कमाण्डमा गएको संयुक्त टोलीले उनिहरुलाई नियन्त्रणमा लिएकाे हो।
पक्राउ पर्नेहरूमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ५० वर्षीय टसि तार्के गुरुङ, जगदुल्ला गाउँपालिका–५ का ४० वर्षीय श्रीलाल बिक र मुड्केचुला गाउँपालिका–७ का ४५ वर्षीय कालीबहादुर सार्की रहेका छन्।
उनीहरूबाट करिब ६० किलो शिलाजीत, दुईवटा घोडा, घोडामा प्रयोग हुने दुईवटा कोटी, १०० मिटर डोरी, एकवटा चक्कुलगायतका सामग्री बरामद गरिएको छ।
निकुञ्जमा कार्यरत गेमस्काउट सन्तोष बुढाको रोहवरमा दोहोरी भरपाईपछि पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको निकुञ्ज स्रोतले जनाएको छ।

डोल्पा न्यूज । २१ भाद्र २०८२, शनिबार १०:२९