डाेल्पान्यूज डेक्स
डाेल्पा,८ असार ।ठुलीभेरी नगरपालिका–५ माझफाल, डोल्पामा सञ्चालित विभिन्न शैक्षिक पूर्वाधार निर्माण तथा मर्मत योजनाको सघन अनुगमन गरिएको छ। शिक्षा क्षेत्रको दिगो विकास, सार्वजनिक स्रोतको पारदर्शी प्रयोग तथा योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न गरिएका यी अनुगमन क्रियाकलापलाई सरोकारवाला निकायले उच्च प्राथमिकता दिएका छन्।
अनुगमन अन्तर्गत ठुलीभेरी–५ माझफालमा निर्माण भइरहेको सामुदायिक लाइब्रेरी (लागत: १५ लाख), हिमालय आधारभूत विद्यालय दुरगाउँको दुई कोठे भवन मर्मत (१५ लाख), देवी आधारभूत विद्यालय काडातालीमा घेराबार निर्माण (१५ लाख), लक्ष्मी माध्यमिक विद्यालय थरगाउँमा खेलमैदान निर्माण (२० लाख) र महादेव आधारभूत विद्यालय हुंको घेराबार निर्माण (२० लाख) योजनाहरू रहेका छन्।
योजनाको अनुगमन टोलीको नेतृत्व जिल्ला समन्वय उपप्रमुख तथा अनुगमन संयोजक तेजेन्द्र बुढाले गरेका थिए। टोलीमा सामाजिक विकास कार्यालय प्रमुख दुर्गाराज विष्ट, लेखा अधिकृत राजकुमार केसी, प्राविधिक प्रदुम्न शाही, तथा पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य विष्णुप्रसाद देवकोटालगायतको सहभागीता थियो।
सामाजिक विकास कार्यालय प्रमुख विष्टका अनुसार, अनुगमनको मुख्य उद्देश्य काममा गुणस्तर कायम गर्नु, सुशासन, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्नु रहेको छ। पछिल्लो समय जिल्लाको शैक्षिक पूर्वाधार विस्तार र गुणस्तर वृद्धिमा सामाजिक विकास कार्यालयको सक्रियता प्रभावशाली रहँदै आएको अनुगमन संयोजक उपप्रमुख बुढाले बताए।
अनुगमनको क्रममा स्थलगत अवलोकनसहित योजनाको नापजाँच गरिएको थियो, जसका आधारमा सम्बन्धित निकायलाई भुक्तानी सिफारिससमेत गरिएको छ। साथै, योजनाको लागत पारदर्शिताका लागि उपभोक्ता समिति र स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै जनश्रम योगदानका बारेमा जानकारी समेत दिइएको थियो।
योजना कार्यान्वयनका हरेक चरणमा स्थानीयको सहभागिता र अनुगमनमार्फत पारदर्शिता कायम गर्न जोड दिइएको यस पहलले स्थानीय तहमा सार्वजनिक उत्तरदायित्व र समावेशी विकास अभ्यासलाई थप बल पुर्याउने विश्वास गरिएको छ।

डोल्पा न्यूज । ८ असार २०८२, आईतवार १९:४४