ताजा समाचार

कांग्रेस कार्यसम्पादन बैठक: पदाधिकारीकाे राजिनामा माग

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकमा शीर्ष नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सम्पूर्ण पदाधिकारीहरूको राजीनामा माग गरिएको छ। बैठकमा सहभागी नेताहरूले पार्टीभित्र ७० वर्ष नाघेका नेताहरूले सक्रिय राजनीतिबाट अवकास लिनुपर्ने आवाज उठाएका छन्।

छलफलमा सहभागी नेताहरूका अनुसार हालको राजनीतिक संकटमा कांग्रेस नेतृत्व पूर्ण रूपमा चुकेको भन्दै आक्रोस व्यक्त गरिएको थियो। जेन–जी आन्दोलनले उत्पन्न गरेको संकटपछि कांग्रेसले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्नेमा नेतृत्व असफल भएको र पार्टीले समयमै आधिकारिक धारणा पनि दिन नसकेको आरोप लगाइएको छ। सभापति शेरबहादुर देउवा उपचाररत रहँदा उपसभापति र महामन्त्रीसहित पदाधिकारीहरूले जिम्मेवारी निर्वाह गर्न नसकेको पनि बैठकमा उठाइएको छ।

महामन्त्रीहरू सामान्य अवस्थामा जस्तै बन्द कोठामा बसेर वक्तव्यबाजी मात्र गर्नेसम्म सीमित भएको भन्दै आलोचना गरिएको थियो। संवाद र पहलमा चुकेकै कारण संविधान बाहिर गएर प्रधानमन्त्री नियुक्त हुने अवस्था आएको बैठकमा सहभागीहरूको धारणा थियो।

‘अब वृद्धभत्ता खाने उमेर समूहका नेताहरूले सक्रिय राजनीति छाडेर सल्लाहकारको भूमिकामा बस्नुपर्छ,’ बैठकमा सहभागी नेताले भने। ‘एकपटक मात्रै मन्त्री भएकाहरूलाई नेतृत्वमा ल्याउन हुँदैन। वर्तमान मन्त्रिपरिषद् र सरकार सञ्चालनमा संलग्नहरू अयोग्य सावित भइसकेका छन्। उनीहरूकै कारण देश यो अवस्थासम्म पुगेको हो भन्ने धारणा पनि प्रष्टसँग राखिएको थियो।’

त्यस्तै, तीन पटकभन्दा बढी सांसद भइसकेका व्यक्तिहरूले पनि कांग्रेस नेतृत्वबाट पछि हट्नुपर्ने प्रस्ताव आएको छ। २०७९ सालको स्थानीय तहदेखि संघीय चुनावसम्मका उम्मेदवारहरूलाई एक कार्यकालका लागि विश्राम दिई नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

बैठकमा नेताहरूले आपत्–विपत् र आन्दोलनको घडीमा जनताको पक्षमा उभिन नसक्ने नेतृत्वकै कारण पार्टी र लोकतन्त्र जोखिममा परेको निष्कर्ष निकालेका छन्।

भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएको घटनाप्रति कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ। बैठकले सभापति देउवा र आन्दोलनमा घाइते भएका सबैको स्वास्थ्य लाभको कामना गरेको छ।

तपाईको प्रतिक्रिया