ताजा समाचार
कर्णाली प्रदेशका ६९३ पत्रकारलाई निःशुल्क स्वास्थ्य बीमा, श्रावणदेखि लागू

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : मुख्यमन्त्री कँडेल

विष्णुप्रसाद देवकोटा, सुर्खेत ।
मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको संरक्षण अनिवार्य रहेको बताएका छन्। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित पत्रकार स्वास्थ्य बीमा पोलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पत्रकारिता सत्यको खोज र जनताको आवाज बुलन्द पार्ने जिम्मेवारी हो। यस्तो संवेदनशील पेशामा संलग्न पत्रकारहरूको सुरक्षा र संरक्षण राज्यको प्राथमिक दायित्व हो।”

मुख्यमन्त्री कँडेलले प्रेस स्वतन्त्रता, पारदर्शिता, आपसी सम्मान र सहकार्य प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गरे। उनले स्वास्थ्य बीमा कार्यक्रम पत्रकारप्रति सरकारको संवेदनशीलता, लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रतिको प्रतिबद्धताको उदाहरण भएको बताए।

कर्णाली प्रदेश सरकारले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा ६९३ जना क्रियाशील पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमा सुरू गरेको छ। बीमा योजना श्रावण महिनादेखि लागू हुनेछ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीचको सम्झौता अनुसार, पत्रकारहरूले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार सेवा प्राप्त गर्न सक्नेछन्। बीमा खर्च कुल करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।

बीमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीमा दावी गर्नुपर्नेछ।
कार्यक्रममा मन्त्रालयका सचिव, कर्मचारी, महासंघ प्रतिनिधि र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको थियो। महासंघले यस कदमलाई पत्रकार हितमा ऐतिहासिक पहलका रूपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया