डाेल्पान्युज
डोल्पा । सरकारले विद्यार्थी तथा जनतामाथि दमन, अत्याचार र अन्याय गरेको भन्दै डोल्पा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
अनरास्ववियु डोल्पा क्याम्पस इकाइ सभापति गोकर्ण बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वमा रहेको सरकारको गलत गतिविधि र संगठनलाई दमन गर्ने प्रयासविरुद्ध मौन बस्न नसक्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीका दास होइनौं। हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, विद्यार्थीको आवाज, जनताको न्याय र देशको भविष्यसँग मात्र हुन्छ।”
बुढाथोकीले अनरास्ववियु डोल्पा क्याम्पस सभापति र नेपाल राष्ट्रिय युवा संघ (कोषाध्यक्ष) दुवै पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। साथै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले समेत संगठनको साधारण सदस्य नरहने घोषणा गरेका छन्।
देशलाई शान्त बनाउन र अन्यायको विरुद्ध विद्यार्थी तथा युवाशक्तिको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ।

डोल्पा न्यूज । २४ भाद्र २०८२, मंगलवार १८:३८