विष्णुप्रसाद देवकोटा
डोल्पा,वैशाख ९गते ।प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानामगरले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोटदेखि सदरमुकाम दुनै बजारसम्मको सडक पिचकै काम नगरी करोडौं रुपैयाँ बजेट निकासा भइसकेको दाबी गर्नु भएको छ ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले उक्त सडक २०७९ अघि नै पिच भएको कागजी विवरण तयार गरी बजेट भुक्तानी गरिएको खुलासा गर्नु भएको हो।
उहाँले भन्नु भयो“ सिहदरवारवाट दुरविनले हेर्यो भने कर्णालीको दुनै र त्रिपुराकोट बजारसम्मको सडक पिचभइसकेको छ तर उपसभामुख भएपछि एक वर्षअघि डोल्पा पुग्दा त बाटो पिच त के राम्रोसंग पनि बनेको छैन” ।
उपसभामुख राइबाट सार्वजनिक भएको यो दाबीपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ।कतिपयले उपसभामुखको भनाइ सस्तो लोकप्रियताको लागि गरिएको सनसनीपूर्ण टिप्पणी भएको बताइरहेका छन् भने कतिपयले यसलाई गम्भीर भ्रष्टाचारसँग जोडेर सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
यता, डोल्पाबाट तीन पटक निर्वाचित सांसद तथा हालका प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा भने उपसभामुख रानामगरको भनाइ झुटो र आधारहीन रहेको बताउनु हुन्छ।
यदि यो कुरा सत्य हो भने उपसभामुखले सम्बन्धित निकायलाई प्रमाणसहित उजुरी दिनुपर्छ, नभए भ्रम फैलाउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिका लागि कानुनी कारबाही हुनुपर्छ सांसद बुढाले भन्नु भयो।
भेरीकोरिडोर अन्तर्गत पर्ने यो सडकको ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले मंसिर १५, २०७५ मा मात्र ट्र्याक तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
हाल नलगाड नगरपालिका–११ तल्लुबगरसम्म मात्रै कालोपत्रेको काम भइरहेकोे छ भने त्रिपुराकोटसम्मको सडकका लागि ४ अर्ब २० करोड रुपैयाँको बजेट सुनिश्चित भई केही समयअघि मात्र टेन्डर भएको जनाइएको छ।
तर, उक्त सडक अहिलेसम्म कालोपत्रे पनि नभएको अवस्थामा “पिच भइसकेको देखाएर” बजेट भुक्तानी गरिएको भन्ने उपसभामुखको दाबीको के प्रमाण छ ?भन्ने प्रश्नले सर्वत्र चासो बढाएको छ।ठूलिभेरीनगरपालिकाका नगरप्रमुख सुवर्ण बुढाले तथ्यहिन र प्रमाण विहिन कुरा उपसभामुख जस्तो गरिमामय पदमा आसिन मान्छेले नबोल्नु पर्ने हो भन्दै यदि प्रमाण र तथ्यमा बोलिएको हो भने सदनबाट पुस्ट्यार्ई गरि दोषिलाई कार्वाही गर्नु पर्ने बताउनु भयो ।
डोल्पाका सामाजिक अभियान्तादेखि नागरिक समाज सम्मले उपसभामुख राइनाले बोल्नु भएको कुरालाई लिएर डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले आगामी प्रतिनिधिसभा बैठकमा उठाई सत्यतथ्य माग गर्नु पर्ने माग गरेका छन ।
यसैबीच, प्रतिनिधि सभा सचिवालयको ल्याण्डलाइन नम्बर ०१–४२००२२७ मा सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्बन्धित कर्मचारीले एकछिन पर्खनुहोस भन्दै फोन काटिदिए ।उक्त दाबीको सत्यता पुष्टि हुने कि राजनीतिक तूल मात्र हुने—अब हेर्न बाँकी छ। तर, उपसभामुखजस्तो जिम्मेवार पदमा बसेकी व्यक्तिबाट आएका यस्ता अभिव्यक्तिले देशको शासकीय पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।