ताजा समाचार

विद्यार्थी नेता र मन्त्री भइसके, विद्यालयको दुर्दशा

जनकपुरधाम । कुनै समय धनुषाको चर्चित एवं प्रतिष्ठित विद्यालय हो– फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वा । यही विद्यालयमा पढेर राष्ट्रिय तहमा उपस्थिति र प्रभाव जमाउने नेता, मन्त्री, गर्भनरदेखि विशिष्ट ओहोदामा पुगेका उदाहरण छन् ।

तर पछिल्ला केही वर्षदेखि कमजोर व्यवस्थापन, अपारदर्शिता, स्थानीय तहको कमजोर उपस्थिति र कानुनी अड्चन लगायत कारण विद्यालयको अवस्था जर्जर बनेको छ ।

सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा अवस्थित उक्त विद्यालय आइतबार दिउँसो पौने ४ बजे बाहिरबाट सुनसान देखिन्थ्यो । मूल ढोका खुल्लै र भित्र शिक्षकहरूको मोटरसाइकल देखिंदा अनुशासित वातावरणमा पढाइ भइरहेको अनुमान थियो । तर भित्र प्रवेश गरेपछि कक्षा कोठामा विद्यार्थीको अत्तोपत्तो थिएन । कार्यालयमा बसिरहेका शिक्षकहरू गफमा व्यस्त देखिन्थे ।

दिउँसो २ः३० बजेतिर विद्यार्थी घर फर्किसकेका एक शिक्षकले जानकारी दिए । ‘आज अढाइ बजे नै विद्यार्थी भागिसकेका छन् । अन्य दिनमा पनि टिफिन समयमै विद्यार्थी घर भाग्छन्’, नाम उल्लेख नगर्ने शर्तमा ती शिक्षकले भने ।

कन्तबिजोग भौतिक संरचना

कतै भित्ता चर्केको त कतै बरण्डा फुटेको अत्यन्त जीर्ण भवन । केही कक्षाकोठाको ढोका टुटेर ढलेको । कतै डेस्क–बेन्चमा अड्केको । धुलैधुलो, कागजको टुक्रा लगायत फोहोरले ढाकेको कक्षाकोठा । कुनाकुनामा यत्रतत्र माकुराको जालो । विद्यार्थी पढ्ने कक्षाकोठा होइन, गाईबस्तुको गोठ जस्तै ।

केही पहिला बनेको नयाँ भवन प्रयोगविहीन छ । झाडीको साम्राज्यमा हराएको शौचालय पस्नै नसकिने । विद्यालय कार्यालयको ढोकासम्मै बरण्डामा शिक्षकहरूको मोटरसाइकल पार्किङ । सँगैको भित्तामा छुट्टाछुट्टै तीन पङ्क्तिमा शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता लेखिएका छन् । भित्ताका निर्जीव आचारसंहितालाई शिक्षकहरूले सगर्व खिल्ली उडाइरहेका देखिन्छन् ।

विद्यालय प्राङ्गणमा स्थानीय अभिभावक घाँस काटिरहेका थिए भने केही बाख्रा चरिरहेका थिए । विद्यालय परिसरमा भेटिएका एक अभिभावक विनोदकुमार साह विद्यालयको दुरवस्थाबारे चिन्तित देखिए । ‘यी हेर्नुस् विद्यालयलाई कस्तो धरासायी बनाइदिए । म आफैं पढेको विद्यालयका दुर्दशा देखेर रुन मन लाग्छ’ उनले भने, ‘जाडोमा यहाँका गरिबका बच्चाहरू भुइँमा कठ्यांग्रिएर पढ्छन् । चिसो सिरेटो चल्छ । फोहोरमा बस्नुपरेको छ ।’

अभिभावकले विद्यालय सुधार्न खोज्दा प्रधानाध्यापक बैजु साहले निषेध गरेको उनको गुनासो थियो । उनले भित्ताका आचारसंहिता देखाउँदै भने, ‘यी भित्तामा लेखिएको आचारसंहिता मैले लेखाएको हुँ । यी वृक्षरोपण हामीले गरेका हौं । तर संरक्षण नपाएर चरण क्षेत्र बनेको छ ।’

सबैला नगरपालिकाको शिक्षा शाखाका अनुसार उक्त विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने ५४५ विद्यार्थी भर्ना भएको तथ्यांक छ भने १७ जना शिक्षक कार्यरत छन् । तर पठनपाठन राम्रो नहुँदा दैनिक १०० देखि १५० को बीचमा विद्यार्थी आउँछन् । प्रायः दिन हाफ टाइममै विद्यार्थी घर फर्किने गरेका छन् ।

हाफ टाइमपछि पढाइ नहुने भएकोले घर फर्किने गरेको विद्यार्थीको गुनासो छ । ‘टिफिनपछि सरहरू अफिसमा बसेर गफगाफमा व्यस्त हुनुहुन्छ । विद्यार्थी घरफर्किन थाले पनि मतलब गर्नुहुन्न । पढाइ नै हुँदैन’ एक छात्राले भनिन्, ‘त्यसैले म पनि टिफिनमै घर फर्किन्छु ।’

बैजु साहले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको बीचमा ६ महिना बाहेक एक दशक भइसक्यो । विद्यार्थी, शिक्षक र स्थानीय अभिभावकहरू समेत प्रअले मनपरी विद्यालय प्रशासन चलाउँदा यस्तो अवस्था बनेको गुनासो गर्छन् ।

‘हेडसर विद्यालय प्रशासन सञ्चालन र पठनपाठनका विषयमा पनि कहिल्यै छलफल गर्नुहुन्न, सुझाव लिनुहुन्न । उहाँ आफ्नै पारामा चलेकोले विद्यालय यो अवस्थामा पुगेको हो’ एक शिक्षक प्रश्न गर्छन्, ‘शिक्षक भित्र पनि गुट बनाउनुभएको छ, अभिभावक नै गैरजिम्मेवार भयो भने घर कस्तो रहन्छ ?’

उनका अनुसार १७ शिक्षकमध्ये ५–६ जनालाई प्रधानाध्यापक साहले आफ्नो ‘एस म्यान’ बनाएका छन् । उनीहरूले नपढाएरै तलब खान्छन् । यही देखेर बाँकी शिक्षकले पनि यही तरिका पछ्याउन थालेका छन् ।

विद्यालयमा निम्न माध्यमिक तहसम्म नजिकैका गरिब तथा विपन्न मुसहर, बातर र मुस्लिम समुदायका बालबालिका बढी पढ्छन् भने माध्यमिक तहमा निकै टाढासम्मबाट प्रायः गरिब परिवारकै विद्यार्थी पढ्न आउँछन् ।

समुदायका गरिब विद्यार्थी पढ्ने हुनाले प्रशासनदेखि स्थानीय सरकारसम्मले विद्यालय शिक्षा सुधारमा कुनै प्रयत्न नगरेको एक अभिभावकले बताए । ‘फोहोर, भत्किएको संरचनामा बसेर पढ्नुपर्छ, त्यही पनि आधा दिनभन्दा पढाइ हुँदैन’ कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने, ‘स्कुल नै बेथितिको दलदलमा डुबेको छ । प्रअ सरको डरले कोही खुलेर बोल्ने आँट गर्दैनन् ।’

विद्यालय सुधारमा कानुनी अड्चन

विद्यालयमा पठनपाठनमा सुधार र नियमित सरसफाइ राख्न सबैला नगरपालिकाको शिक्षा शाखाले पनि पत्राचार तथा मौखिक निर्देशन दिने गरेको छ ।

‘विद्यालयको अवस्था जर्जर छ । पटक–पटक पत्राचार गरेर सुधार गर्न निर्देशन दिएको छु, तर टेर्दैनन् । कानुन अभावमा चाहे जस्तो सुधार गर्न सकिएको छैन’, शिक्षा शाखाका प्रमुख प्रदीप मुखियाले अनलाइनखबरसँग भने ।

उनले बेलाबेला तलब रोक्न खोज्दा कानुन तगारो बनेको गुनासो गरे । ‘अब नगरसभाबाट कानुन पास गरेर कडाइ गर्छौं’, उनले भने ।

विद्यालयको अवस्था अस्तव्यस्त बनाएको भन्दै झण्डै दुई वर्षअघि प्रअ साहमाथि स्थानीयले कालोमोसो समेत दलेका थिए । पुरानै लयमा विद्यालय फर्काउन डेढ वर्षअघि अभिभावक भेलाले विनोदकुमार पालको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्दै सुधारको प्रयास सुरु गरेको थियो ।

विद्यालयको आर्थिक स्रोत बलियो छ । ४३ बिघा जग्गा र रघुनाथपुर बजारबाट विद्यालयले वार्षिक झण्डै ५० लाख रुपैयाँ आम्दानी गर्ने स्थानीय बासिन्दा दाबी गर्छन् । प्रधानाध्यापक साहलाई हरहिसाब पारदर्शी गर्न व्यवस्थापन समितिले दबाब दिए पनि उनले अटेर गर्दै आएका छन् ।

एक वर्षअघि त विद्यालय व्यवस्थापन समितिले साहलाई निलम्बन गरेर शिक्षक रामशोभित पण्डितलाई जिम्मेवारी दियो । तर साह र केही अभिभावक व्यवस्थापन समितिविरुद्ध मुद्दा लिएर उच्च अदालत जनकपुर पुग्यो र उच्च अदालतको आदेशमा साह पुनः प्रधानाध्यापकको जिम्मेवारीमा फर्किए ।

व्यवस्थापन समिति माथिको मुद्दा अझै विचाराधीन रहेको छ । नगरपालिकाको शिक्षा शाखा विद्यालय सुधार्न कानुनी अड्चन रहेको भन्दै पन्छिइरहँदा वडा नं. १२ का वडाध्यक्ष रामनारायण अधिकारीको सहमतिमा वडा सदस्य शिव राउतको अध्यक्षतामा प्रअ साहले आफू अनुकूलको व्यवस्थापन समिति बनाएका छन् । आफ्नो सहमतिमा वडा सदस्यको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाएको स्वीकार्ने वडाध्यक्ष अधिकारी विद्यालयको दुरवस्थाको विषयमा केही बोल्न मानेनन् ।

यता, सबैला नगरपालिकाका प्रमुख कारीराम यादव यसबारे अनभिज्ञता प्रकट गर्छन् । ‘पुरानो समितिको विषयमा मलाई जानकारी छ । नयाँ बारे केही थाहा छैन । प्रअले विद्यालयलाई धरासायी बनाएको सही नै हो’, उनले भने ।

धरासायी बनेको विद्यालयका शिक्षकलाई पालिका भित्रकै विद्यालयमा सरुवा गर्ने र अन्य आवश्यक कानुन बनाएर विद्यालय सुधार गर्ने योजना मेयर यादवले सुनाए ।

शिक्षा शाखा प्रमुख मुखिया प्रधानाध्यापकले पालिकालाई समन्वय नगरी मनपरी ढंगले गरेको विद्यालय व्यवस्थापन समिति अवैध रहेको बताउँछन् । व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पाल विद्यालयलाई सुधार गर्न प्रधानाध्यापक साहले अवरोध गरेको गुनासो गर्छन् । ‘सुधार रोक्न प्रधानाध्यापकले लुकिछिपी नयाँ व्यवस्थापन समिति बनाए’ उनी गुनासो गर्छन्, ‘न आफू सुधार गर्न चाहन्छन्, न हामीलाई काम गर्न दिन्छन् ।’

उक्त विद्यालय पढेका पत्रकार पुरण गुप्ता दुई दशकअघि ७/८ सय विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन विद्यालय प्रशासन सक्षम थियो । ‘पठनपाठन धेरै राम्रो भएकोले विद्यार्थी टाढा–टाढाबाट पनि पढ्न आउँथे । जिल्लाकै चर्चित विद्यालय अहिले निकै दयनीय अवस्थामा छ’, उनले दुःखेसो पोखे ।

२०१६ सालमा फकिरचन्द्र गामी दाताले स्थापना गरेको यही विद्यालयमा पढेर धेरै विद्यार्थीले राष्ट्रिय जीवनमा विशिष्ट स्थान हासिल गरेका छन् । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, पूर्वगभर्नर विजयनाथ भट्टराई, डेपुटी गभर्नर सुन्दरनाथ भट्टराई, पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव, माओवादी युद्धका शहीद रामवृक्ष यादव, पूर्वराज्य मन्त्री बोधमाया यादव लगायतले यही विद्यालयमा अध्ययन गरेका थिए ।

त्यसो त, सबैला नगरपालिकाका मेयर यादव स्वयं यही विद्यालयका उत्पादन हुन् । गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले यही विद्यालयमा पढेका थिए । यी र यस्ता अनेकौं उदाहरण रहेका गौरवशाली इतिहास बोकेको विद्यालय अहिले जर्जर अवस्थामा पुगेको छ ।

‘घेराबन्दी गरियो’

प्रधानाध्यापक साह भने आफूलाई चौतर्फी घेराबन्दी गरेर विद्यालयलाई राम्रो बनाउन अवरोध गरिरहेको दावी गर्छन् । ‘विभिन्न स्वार्थ राखेर मलाई डिस्टर्ब गरिरहन्छन् । राम्ररी काम गर्न दिंदैनन् । अहिले पनि विद्यालयमा राम्रो पढाइ हुन्छ । प्रत्येक वर्ष वार्षिकोत्सव गरेर हरहिसाब पारदर्शी गर्छौं’, उनी भन्छन् ।

यस वर्षबाट विद्यालयमा भेटेरिनरीको प्राविधिक शिक्षा सुरु भएको र १७ विद्यार्थीले अध्ययन गरिरहेको उनी दाबी गर्छन् । तर विद्यालयकै एक शिक्षक भेटेरिनरी प्राविधिक शिक्षा पढ्ने ३÷४ जना मात्रै विद्यार्थी रहेको जिकिर गर्छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!