ताजा समाचार
राज्यको दायित्व एक नागरिकले निभाउँदा, ‘निशुल्क स्वास्थ्य बिमा’ भने अझै गाउँलेको पहुँचबाहिर

आर्थिक रूपमा कमजोर राेकाया परिवारलाई डा. अखण्ड उपाध्यायको स्वास्थ्य विमा सहयोग

डाेल्पान्युज । मुड्केचुला गाउँपालिका–४ का स्थानीय कृष्णबहादुर रोकायाका पाँच सदस्यीय परिवारकाे स्वास्थ्य बिमा डाेल्पाकै एक मनकारी चिकित्सक डा. अखण्ड उपाध्यायले गरिदिएका छन्।

कृष्णबहादुर रोकाया केही वर्षअघि काम गर्ने क्रममा लडेर कम्मरको हड्डी भाचिएपछि थला परेका थिए। आर्थिक अवस्था कमजोर हुँदा उनी उपचार गर्न नसकी घरमै घरेलु उपचार गर्दै बाँचिरहेका थिए।

गएको वर्ष जिल्ला अस्पताल डोल्पाबाट स्वास्थ्य शिविरका लागि इल गाउँ पुगेका डा. उपाध्यायसँग भेट हुँदा रोकायाले आफ्ना समस्या सुनाएका थिए। त्यसपछि डाक्टरले उनलाई दुनै आउन एक्स–रे गर्न सुझाएका थिए। एक्स–रेमा कम्मरको दायाँपट्टिको हड्डी भाचिएको देखिएपछि हाडजोर्नी विशेषज्ञसँग टेलिमेडिसिनमार्फत सल्लाह लिएर डा. उपाध्यायले भनेका थिए —

“उपचार सम्भव छ, तर हिप रिप्लेसमेन्ट गर्नुपर्ने हुन्छ। यो धेरै पुरानो चोट भएकाले थप परीक्षण (एमआरआई, सिटी स्क्यान) आवश्यक छ।”

तर जब रोकायाले आर्थिक कठिनाइका कारण उपचार सम्भव नभएको बताए, डा. उपाध्यायले आफ्नै पहलमा रोकाया परिवारका पाँचै सदस्यको स्वास्थ्य बिमा गरिदिए। केही समयअघि अर्को बिरामीका लागि संकलन गरिएको सहयोग रकमबाट बाँकी रहेका रु. १७०० र केही आफ्नै खर्च थपेर उनले यो काम पूरा गरेका हुन्।

डा. उपाध्यायले भने,

“कृष्णबहादुरजीको परिवारको बिमा गरेपछि मलाई राहत महसुस भयो। अब कम्तीमा अस्पताल जानुपर्ने बेला उपचारमा सहज हुनेछ भन्ने विश्वासले खुशी छु।”

बिरामी कृष्णबहादुर रोकाया सहित गंगादेवी बुढा, अरुण रोकाया, विवेक रोकाया, र कर्ण रोकायाको स्वास्थ्य बिमा गरिएको हो।

डाेल्पाका स्थानीय बासिन्दा समेत रहेका डा. अखण्ड उपाध्याय चिकित्सक मात्र होइनन्, सामाजिक अभियन्ता पनि हुन्। कहिले सहयोग संकलन गरेर, कहिले आफ्नै खल्तीबाट, उनले समस्यामा परेका नागरिकका लागि हात अगाडि बढाइरहेका छन्।

तर यता राज्यको स्वास्थ्य नीति भने अझै पुस्तिकामै थुनिएको छ। ‘निशुल्क स्वास्थ्य बिमा’ भन्ने सरकारी कार्यक्रम गाउँ–गाउँमा कागजकै पानामा सिमित छ। ग्रामीण नागरिकहरू अझै पनि अस्पताल पुग्न, उपचार गराउन र औषधि लिन संघर्षरत छन्।

जब एक चिकित्सकले आफ्नै आम्दानीको सानो हिस्सा खर्चेर पाँच परिवारको स्वास्थ्य सुनिश्चित गर्न सक्छन्,। त्यो राज्य किन असक्षम छ, जसको प्रमुख दायित्व नै नागरिकको स्वास्थ्य सुरक्षा हो?

तपाईको प्रतिक्रिया