डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट वगरमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३१३ जनाले सेवा लिएका छन्। विशेषगरी महिलाहरूमा देखिने प्रसवपश्चात फिस्टुला, कुष्ठरोग लगायत छालासम्बन्धी समस्या र प्रजनन सम्बन्धी जटिलतामा केन्द्रित सेवा प्रदान गरिएको थियो।
शिविरमा ९० जनाको प्रजनन असक्षमता परीक्षण गरिएको छ भने दोस्रो चरणको पाठेघर झर्ने समस्या रहेका ४ जना महिलालाई रिङपेसरी विधिबाट उपचार गरिएको फोकल पर्सन पुष्पा रावतले जानकारी दिइन्। त्यस्तै, भिआईए परीक्षणमा ३ जना पोजेटिभ, १ जना सस्पेक्टेड देखिएपछि चारै जनालाई थप जाँचका लागि एक महिनापछि जिल्ला अस्पताल डोल्पामा पुनः परीक्षण गरिने बताइएको छ।
शिविरमा एक महिलालाई इम्प्लान्ट सेवा पनि प्रदान गरिएको सृजना बोहोराले जानकारी दिइन्। त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा, स्वास्थ्य सेवा कार्यालयको समन्वय, प्लान इन्टरनेशनल नेपाल र जर्मन कोर्पोरेशनको सहयोगमा शिविर सम्पन्न गरिएको हो।
शिविरमा साइनिङ नेपाल र आइएनएफ नेपाल (INF Nepal) सुर्खेतको प्राविधिक सहयोग रहेको थियो। जिल्ला अस्पताल दुनैका डा. भीमबहादुर बुढा र आइएनएफ सुर्खेतकी डा. सुभक्षा देवा श्रेष्ठको नेतृत्वमा स्वास्थ्य टोलीले बिरामीको जाँच तथा परामर्श प्रदान गरेका थिए।
स्वास्थ्य शिविर निकै प्रभावकारी भएको र यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिएमा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने स्थानीय महिलाहरूले विश्वास व्यक्त गरेका छन्। यस्ता शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतना र सेवा पहुँचमा महत्वपूर्ण भूमिका खेल्ने छ।

डोल्पा न्यूज । २४ बैशाख २०८२, बुधबार ००:०६