विष्णुप्रसाद देवकोटा
डाेल्पा,रुम। त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित श्री ज्योती आधारभूत विद्यालय, रुममा नवनिर्मित सुविधा सम्पन्न शौचालयको भव्य उद्घाटन नगरउपप्रमुख देवी घर्तीले गरिन्। फिनल्यान्ड सरकारको सहयोगमा सञ्चालित “सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता” आयाेजना(सुस्वा) कार्यक्रम तथा त्रिपुरासुन्दरी नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न उक्त तीन कोठे शौचालय छात्र–छात्रा तथा अपाङ्गमैत्री ढाँचामा बनाइएको छ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि रूपमा सुस्वाका प्राविधिक विज्ञ नारायणसिं खवास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र बुढा, त्रिपुरासुन्दरी नगरपालिका-२ का कावा वडाध्यक्ष रणबहादुर बुढा, वडा नं ३ का वडाध्यक्ष तथा सामाजिक विकास संयोजक भक्त केसी, वडा नं ७ का अर्का अध्यक्ष खम्ब बुढा, नगरपालिकाका सूचना अधिकारी हेमन्त शाही, इन्जिनियर चन्द्र शिखर वली, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ, कृषि शाखाका छैठौं अधिकृत रमेशबहादुर रावत लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अपाङ्गमैत्री शौचालय : खर्च र सुविधा
सुस्वा आयोजनाबाट ४ लाख ९९ हजार ७५६ रुपैयाँ, नगरपालिकाको म्याचिङ कोष तथा स्थानीय श्रमदान सहित झण्डै १० लाख रुपैयाँको लागतमा सम्पन्न उक्त शौचालय छात्र–छात्रा दुवैका लागि अलग्गै व्यवस्था गरिएको छ। अपाङ्गमैत्री पहुँचसहितको शौचालयले विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वच्छता तथा स्वास्थ्यको दृष्टिले सुरक्षित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
उद्घाटनसँगै अनुगमन, सुझाव र चेतावनी
शौचालय उद्घाटनसँगै सहयोगी संस्था, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूले संयुक्तरूपमा निर्माण पक्षको अवलोकन तथा अनुगमन गरे। कार्यक्रममा बोल्दै सुस्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिं खवासले, “योजना उद्घाटनको तामझामले मात्र हैन, दीर्घकालीन मर्मत सम्भार नै दिगोपनाको आधार हो,” भन्दै प्रत्येक योजना लागतको २% मर्मत कोषमा छुट्याउनु अनिवार्य रहेको स्पष्ट गरे।
उनले अगाडि थपे “सुरुमा राम्ररी प्रयोग गरिए पनि एक वर्षपछि जाँदा ढुंगा र फोहोरले भरिएको, भत्किएको अवस्था देखिने परिपाटी हट्नुपर्छ। गुणस्तरीय शौचालय शिक्षाको सूचक पनि हो।”
स्थानीय आवाज र अपेक्षा
नगरउपप्रमुख देवी घर्तीले आफ्नै पहलमा योजना अघि बढाएको जनाउँदै विद्यालयका बालबालिकाको स्वास्थ्य, सुरक्षामा टेवा पु¥याउने विश्वास व्यक्त गरिन्।वडा नं २ का कावा अध्यक्ष रणबहादुर बुढा र स्थानीय अभिभावक नेत्र बुढाले विद्यालयमा खानेपानी तथा शौचालय सुविधा पाएकोमा खुसी व्यक्त गर्दै अझै पनि गाउँमा पानीको विकराल समस्या समाधानतर्फ सुस्वा तथा नगरपालिकाको ध्यान जानुपर्ने माग राखे।
सांस्कृतिक प्रस्तुति र बालबालिकाको उत्साह
उक्त अवसरमा विद्यालयका बालबालिकाहरूले विविध सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुति दिएका थिए। अतिथि सत्कार तथा मनोरञ्जनका लागि गरिएको कार्यक्रमले वातावरण झनै उल्लासमय बनाएको थियो।
श्री ज्योती आधारभूत विद्यालयमा सम्पन्न अपाङ्गमैत्री शौचालय निर्माणले शिक्षा र स्वच्छता जोड्ने उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ।विकासमा दीर्घकालीन संरक्षण र समुदायले अपनत्व लिने दिगो व्यवस्थापनको आवश्यक छ ।सुस्वा परियोजनाको बाँकी दुई वर्षलाई स्थानीय तहले भरपुर उपयोग गर्न सक्ने हो भने त्रिपुरासुन्दरी नगर शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा नयाँ आयाम सिर्जना गर्न सक्छ।

डोल्पा न्यूज । ४ असार २०८२, बुधबार २०:३७