ताजा समाचार

अनुगमन स्मृतिबाट : त्रिपुरा माध्यमिक विद्यालय पहिलोपटक एसईई परीक्षा केन्द्र

विष्णुप्रसाद देवकोटा 

डोल्पा, भदौ २ गते ।त्रिपुरासुन्दरी नगरपालिका–१ काटियाचौरस्थित त्रिपुरा माध्यमिक विद्यालयमा एसईई परीक्षा सञ्चालन भएको पाँचौं दिनमा अवलोकन गर्ने अवसर पाइयो । विद्यालयको शान्त परिवेश, विद्यार्थीहरूको अनुशासित एकाग्रता, वरिपरिको हरियाली र स्वच्छ वातावरणले परीक्षा मात्र नभई शिक्षा–मन्दिरको गहिरो महत्त्व स्मरण गराइरहेको अनुभूति भयो । पत्रकारको नाताले यस्तो ऐतिहासिक क्षण नजिकबाट हेर्ने अवसर पाउनु आफैंमा स्मरणीय रह्यो ।

यस विद्यालयको इतिहास २०१७ सालदेखि सुरु हुन्छ । २०७१ सालमा माध्यमिक विद्यालयको रुपमा प्रस्तावित भए पनि लामो समयसम्म परीक्षा केन्द्र बन्न पाएको थिएन । जिल्लाका अन्य विद्यालयहरू छोटो समयमा नै उच्च मावि हुँदै क्याम्पससम्म रूपान्तरण भइसकेका बेला, काटियाचौरको यो विद्यालय भने २०८२ साल साउन २९ गतेदेखि पहिलोपटक एसईई परीक्षा सञ्चालन गर्ने अवसर पाएको हो ।

२२ सय मिटरको उचाइमा, हरियाली फाँटका टाकुरामा, शान्त र उपयुक्त वातावरणमा अवस्थित यो विद्यालय सबै हिसाबले परीक्षा केन्द्रका लागि उपयुक्त बनेको छ । यातायात सुविधा सहज हुनुका साथै टाढाटाढाबाट परीक्षा दिन आउने विद्यार्थीलाई बसोबास र खानपिनको व्यवस्थासमेत गरिएको छ ।

विद्यालयका प्रध्यानाध्यापक तुलबहादुर विष्टले भने,“यो हाम्रो विद्यालय मात्र नभई सम्पूर्ण गाउँकै गौरव हो । पहिले पहिले परीक्षा दिनकै लागि टाढासम्म धाउनुपर्थ्यो, आज आफ्नै आँगनमा एसईई केन्द्र पाएको छौँ । यसले विद्यार्थीको आत्मबल बढाएको छ, अभिभावकलाई सहज बनाएको छ, अनि विद्यालयको प्रतिष्ठा पनि उच्च बनाएको छ ।”

स्थानीय अभिभावक तथा पुर्व विव्यस अध्यक्ष  टंकप्रसाद उपाध्यायले यसलाई ऐतिहासिक दिनका रूपमा लिँदै भने, “हाम्रो छोराछोरी अब टाढासम्म जानु पर्दैन, आफ्नै गाउँमै परीक्षा दिन पाउँदा हामीलाई गर्व लागेको छ । यो अवसरले शिक्षा तर्फ सबैलाई थप प्रोत्साहन गर्नेछ ।”

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविकृष्ण उपाध्यायले भने,“विद्यालय सबै हिसाबले केन्द्रमा छ । यहाँको भौगोलिक अवस्थाले अनुकूल वातावरण दिएको छ, विद्यार्थीलाई बसोबास र खानपिनको सुविधा मिल्ने व्यवस्थासमेत गरिएको छ । अब यसलाई अवसरका रूपमा प्रयोग गर्दै विद्यालयको गुणस्तर अझै माथि उठाउनुपर्ने छ ।”

त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख यामप्रसाद शर्मा गौतमले भने,“परीक्षा सञ्चालनका लागि सुरक्षा र वातावरण दुवै हिसाबले उपयुक्त विद्यालय र स्थान भएकाले यसलाई भविष्यमा पनि परीक्षा केन्द्रका रूपमा कायम गर्नेमा कुनै दुविधा छैन ।”

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार, परीक्षा केन्द्र प्राप्त गर्नु केवल परीक्षा सञ्चालनको कुरा मात्र होइन, विद्यालयको क्षमता, विश्वास र भविष्यप्रतिको आस्थासँग गाँसिएको विषय हो ।

विद्यालय भनेको केवल पठनपाठन गर्ने कोठा मात्र होइन, उज्यालो भविष्य निर्माण गर्ने कारखाना हो ।

यसरी, काटियाचौरको त्रिपुरा माध्यमिक विद्यालयले यसपटक पाएको एसईई केन्द्र केवल परीक्षा सञ्चालनको अवसर मात्र नभई शिक्षा–यात्राको नयाँ अध्याय बनेको छ ।

तपाईको प्रतिक्रिया