विष्णुप्रसाद देवकोटा
डाेल्पा,साउन ९ गते ।त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित वडा कार्यालयमा स्थानीयवासीले लगाएको ताला प्रहरीको सहायतामा खोलिएको छ। बजेट विनियोजन र कार्यक्रम छनोटमा वडाध्यक्ष चन्द्ररुप डसालले एकल निर्णय गरेको आरोप लगाउँदै शुक्रबार नेकपा एमाले समर्थक वडा सदस्य विषा पुन, गाउँका मुखिया राजबहादुर पुनलगायतका गाउँलेको उपस्थितिमा किस्मत शाहीको अगुवाइमा तालाबन्दी गरिएको हो।
दिउँसो करिब २ बजे लगाइएको ताला साँझ मात्र प्रहरीको सहयोगमा खोलिएको थियो। वडाध्यक्षको अनुपस्थितिमा जर्बजस्ती र अधिकार नबुझी ताला लगाइएको भन्दै प्रहरी, वडा सदस्य पुन, पूर्व वडाध्यक्ष विश्वचन्द्र डसाललगायतको रोहबरमा ताला खोलिएको हो। ताला खोल्दै पूर्व वडाध्यक्ष डसालले वडाध्यक्ष कार्यालयमा नरहेको अवस्थामा तालाबन्दी गर्नु गलत भएको बताए। उनले वडाध्यक्ष उपस्थित भएपछि आवश्यक छलफल गर्ने सहमतिसहित ताला खोलिएको जानकारी दिए।
वडाध्यक्ष डसालमाथि बजेट र कार्यक्रम छनोटमा मनपरी गरेको आरोप लगाइए पनि उनले भने उक्त आरोप अस्वीकार गरेका छन्। “म सार्वजनिक हित र समावेशी विकासका आधारमा योजना छनौट गर्दै आएको छु। सबै वडासदस्यलाई जानकारी दिइएको थियो,” डसालले भने।
उनले वडा भित्रका मुहु, बन्तडी र हुम गाउँका जनप्रतिनिधिसहितको सहमतिमा निर्णयहरू गरिएको दाबीसमेत गरेका छन्।

डोल्पा न्यूज । ९ श्रावण २०८२, शुक्रबार २०:०२