पुर्ण कुमार/ डोल्पा न्युज
काठमाण्डौ। डोल्पा देखि माध्यमिक शिक्षा परीक्षामा उतिर्ण विद्यार्थीहरुलाई काठमाण्डौमा बधाई तथा सम्मान गरिएको छ ।
शनिबार दिउँसो काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा भ्वाइस अफ डोल्पा स्टुडेन्ट द्वारा यो वर्ष डोल्पा देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उतिर्ण भै उच्च शिक्षा हासिल गर्न काठमाण्डौ पुगेका झण्डै ५७ जना विद्यार्थीलाई खादा र अविर लगाएर बधाई तथा सम्मान कार्यक्रम गरिएको भ्वाइस अफ डोल्पा स्टुडेन्टका सदस्य दीपक सार्कीले डोल्पा न्युजलाई बताउनु भयो ।
विद्यार्थीको मनोबल उच्च राख्नका साथै हौसला प्रदान गर्न समेत यस्ता कार्यक्रम राख्ने गरिएको सार्कीले बताउनु भयो।
एसईई परीक्षामा उतिर्ण भै उच्च शिक्षा हासिल गर्न काठमाण्डौ पुगेका विद्यार्थीलाई भ्वाइस अफ डोल्पा स्टुडेन्टले प्रत्येक वर्ष यस्ता कार्यक्रम राख्दै आइरहेको छ। भ्वाइस अफ डोल्पा स्टुडेन्ट डोल्पा देखि सङ्घीय राजधानी काठमाण्डौमा अध्ययन गरिरहेका विद्यार्थीको साझा संघठन हो।
केन्द्र देखि धेरै टाढा रहेको हिमाली जिल्ला डोल्पा देखि उच्च शिक्षा हासिल गर्न प्रत्येक वर्ष सङ्घीय राजधानी काठमाण्डौमा डोल्पाली विद्यार्थी सयौको संख्यामा पुग्ने गरेका छन् ।
डोल्पाका विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रमुख गन्तव्य भनेको नै सङ्घीय राजधानी काठमाण्डौ हो।
बधाई तथा सम्मान कार्यक्रममा विद्यार्थीहरु तथा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिन विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमलाई भव्य र सव्य गर्नका निम्ति सहयोग गर्नु हुने र कार्यक्रममा उपस्थित सम्पुर्ण पाहुनाहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रमका सभाध्यक्ष मोहन बुढाले धन्यबाद समेत व्यक्त गर्नु भएको छ।
कार्यक्रममा सभाध्यक्ष बुढा, प्रमुख अतिथि रानाग रिङ्पोचे , काठमाण्डौ विश्वविद्यालयका डीन पन्न थापा, कर्णाली प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन,बन् तथा वातावरण मन्त्री नन्द सिंह बुढा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य भीमा केसी बञ्जारा, युवा नेता दिलीप सिंह ठकुरी, नेपाल विद्यार्थी संघ डोल्पाका अधक्ष्य मिलन बुढाथोकी लगाएत डोल्पा जिल्लाका अग्रज व्यतित्व सहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।