विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १६ ।
लगातारको भारी वर्षाका कारण सम्भावित प्राकृतिक विपद्का जोखिमलाई मध्यनजर गर्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अग्रिम सूचना जारी गरेको छ। नगरप्रमुख जनचन्द्र रोकायाले नगरवासीलाई सजग रहन र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गर्दै एक सार्वजनिक सूचना जारी गरेका छन्।
सूचनामा देशभरि भइरहेको अत्यधिक वर्षाले नगर क्षेत्रसहित डोल्पा जिल्लामा पहिरो, बाढीलगायतका घटनाबाट भौतिक तथा मानवीय क्षति हुनसक्ने जनाउँदै जोखिम न्यूनिकरणको उपाय अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ।
“यदि कुनै अप्रत्याशित प्राकृतिक विपद् आइपरेमा तुरुन्तै नगरपालिका परिवारलाई जानकारी गराई सहयोगका लागि आग्रह गर्नुहोस्,” मेयर रोकायाले भनेका छन्। उहाँले विपद्को समयमा नगरपालिका चौबिसै घण्टा नागरिकका सेवामा रहने स्पष्ट पारेका छन्।
नगरवासी वा पीडितले तत्काल सम्पर्क गर्न सकिने नगरप्रमुख रोकायाको सम्पर्क नम्बरहरू ९८५१०२९२४० र ९८५८३६६८२९ सार्वजनिक गरिएको छ।
नगरपालिकाले नागरिकलाई आवश्यकता अनुसार सुरक्षित स्थानमा बस्न, आकस्मिक सामग्री तयारी राख्न र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ।

डोल्पा न्यूज । १६ असार २०८२, सोमबार ०६:२०