ताजा समाचार

डोल्पा पर्यटनकाे दीर्घकालीन खाका तयार, फोहोरमैला व्यवस्थापनमा सहकार्यको जोड

विष्णुप्रसाद देवकोटा

दुनै-डोल्पाको पर्यटन सम्भावना र वातावरणीय सरसफाइलाई सँगै अघि बढाउने उद्देश्यले शे-फोक्सुण्डो पर्यटन समन्वय समिति डोल्पाको आयोजनामा तथा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डब्ल्यूडब्ल्यूएफको सहयोगमा जिल्ला स्तरीय सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा डोल्पा जिल्लाको पर्यटकीय प्रोफाइल प्रस्तुत गरिनुका साथै फोहोरमैला व्यवस्थापन रणनीतिमाथि गहिरो छलफल गरिएको थियो। दीर्घकालीन दिगो पर्यटन विकासमा सरोकारवाला निकायहरूको संयुक्त सहकार्य आवश्यक रहेको धारणा बैठकका सहभागीहरूले राखेका थिए।

समितिका कार्यबाहक अध्यक्ष चाँद हमालले स्थानीय विद्यालय, महिला समूह तथा अन्य समुदायसँग सहकार्य गर्दै जनचेतनामूलक शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर रोकाया प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, ठूलीभेरी नगर प्रमुख सुवर्ण कुमार बुढा लगायतका वक्ताहरूले आधुनिक पद्धतिबाट फोहोरलाई व्यवस्थापन गर्दै आम्दानीको स्रोतमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

बैठकले आगामी दिनमा डोल्पाको पर्यटकीय स्रोत पहिचान, प्रोफाइल प्रकाशन, तथा फोहोर व्यवस्थापनमा संस्थागत समन्वय गर्ने निर्णय गरेको शे-फोक्सुण्डो पर्यटन समन्वय समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया