डोल्पा, त्रिपुरासुन्दरी — नेकपा माओवादी केन्द्रको त्रिपुरासुन्दरी नगर कमिटीको दोस्रो नगर सम्मेलनको अवसरमा नेपाल बुद्धिजीवी संगठनको त्रिपुरासुन्दरी नगरपालिका स्तरको २३ सदस्यीय समिति गठन गरिएको छ।
नगर इन्चार्ज जङ्गबहादुर रोकायाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य कमरेड माधव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका डोल्पा इन्चार्ज काली चलाउने, कर्णाली प्रदेशसभा सदस्य उर्मिला विश्वकर्मा, तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य एवं डोल्पा इन्चार्ज रणबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।
गठित समितिको अध्यक्षमा हेमराज हमाल चयन हुनु भएको छ भने उपाध्यक्षहरूमा मानबहादुर विक, लालबहादुर रोकाया र कार्यमा रोकाया निर्वाचित भएका छन्। सचिवमा ज्ञानबहादुर बोहोरा, सहसचिवमा पन्ना बहादुर नेवार, कोषाध्यक्षमा रामबहादुर केसी चयन हुनु भएको छ। अन्य १६ जना सदस्यहरू पनि निर्वाचित भई समितिको पूर्णता दिइएको हो।
नवगठित समिति सदस्यहरूलाई प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले अबिर र खादा ओढाएर बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो। शपथग्रहण कार्यक्रम नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य रणबहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो।