ताजा समाचार

कर्णाली प्रदेश सरकारकाे बर्खे अधिवेशन अन्त्य,पत्रकारिता पुरस्कार कार्यविधि पारित

विष्णुप्रसाद देवकोटा

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको छैटौं (बर्खे/बजेट) अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। अधिवेशनको प्रारम्भ वैशाख अन्तिम सातातिर भएको थियो।

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार बैठकले अधिवेशन अन्त्यसँगै अन्य चार निर्णय पनि गरेको छ।

मन्त्रालय अनुगमन गर्न इकाई गठन

प्रत्येक मन्त्रालयको कामकाज र सूचना अधिकारीको कार्यसम्पादन अनुगमन गर्न तीन सदस्यीय इकाई गठन गरिने भएको छ। संयोजकमा मुख्यमन्त्री कार्यालयको प्रशासकीय सुधार महाशाखाका सचिव र सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी रहने छन्।

सचिव ढकालको पदस्थापन

प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।

चुनीचाँदे गाउँपालिकाको केन्द्र टुंगियो

जाजरकोटको चुनीचाँदे गाउँपालिकाको केन्द्रबारे सर्वोच्च अदालतको निर्णय अनुसार गाउँपालिकाको तोकेको केन्द्रलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

पत्रकारिता पुरस्कार कार्यविधि पारित‘

पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८१’ स्वीकृत गरिएको छ, जसले प्रदेशमा पत्रकारिता पुरस्कार वितरण प्रक्रिया सहज बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया