ताजा समाचार

छल मष्टा धर्मस्थलमा पाँचमुखे जलधारा र धर्मकुण्ड सहित शिव–पार्वती मूर्ति प्रतिस्थापन

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी ( छल)– डोल्पाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको छल मष्टा भवानी मन्दिर परिसरमा पाँचमुखे गौ जलधारा, धर्मकुण्ड र शिव–पार्वतीको पूर्णकदकाे मूर्ति प्रतिस्थापन कार्य सम्पन्न भएको छ। त्रिपुरासुन्दरी नगरपालिकाका पूर्व नगरप्रमुख स्व. ओमबहादुर बुढाको कार्यकाल (आ.व. २०७६/०७७) मा प्रारम्भ भएको धार्मिक संरचना निर्माण कार्यले हालका नगरप्रमुख जनचन्द्र रोकायाको नेतृत्वमा आ.व. २०८१/८२ मा पूर्णता पाएको हो।

सिंगराज मष्टाको प्रकटभूमिमा अवस्थित यस स्थललाई धार्मिक ऊर्जा तथा पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले सम्पन्न गरिएको यस कार्य अन्तर्गत, जलधाराको शिरस्थलमा आराध्यदेव शिव र देवी पार्वतीको पूर्णकदकाे  मूर्ति २०८२ बैशाख २९ गते सिंगराज भगवानको शुभसाइतमा विधिपूर्वक प्रतिस्थापन  गरिएको छ।पंचे बाजागाजाका साथ मंगलध्वनी सहित ब्रामणबाट पुजाआजा गरेर शिव पार्वतीकाे मुर्ति प्रतिस्थापन गरिएकाे थियाे ।

स्थानीय धार्मिक समुदायको गहिरो आस्था संगाल्दै, सम्पूर्ण डोल्पावासी तथा विश्वभरिका हिन्दू धर्मालम्बीहरूका लागि आस्थाको प्रतीक बनेको यस धार्मिक संरचनाले त्रिपुरासुन्दरी नगरपालिकालाई धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

यस पुण्य कार्यमा सक्रिय सहभागीता जनाउने दिवंगत मेयर बुढा, वर्तमान मेयर रोकाया तथा सम्पूर्ण नगरपालिका टिमप्रति डोल्पावासी जनसमुदायले आभार प्रकट गरेकाे त्रिपुरासुन्दरी भगवती मन्दिरका फूलपाती डाेले पुजारी त्रिपुरासुन्दरी -१ का तुलबहादुर विष्टले बताउनु भयाे ।यस्ता परियोजनाहरूले कर्णालीको मौलिक धार्मिक र सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्ने दिशामा दीर्घकालीन योगदान पुर्‍याउने जनअपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया