विष्णुप्रसाद देवकोटा
वीरेन्द्रनगर, कर्णाली ।कर्णाली प्रदेश सरकारभित्र सत्ता साझेदार दलहरूबीचको आन्तरिक विवाद सतहमा आएको छ। यही किचलोका कारण प्रदेश सरकारको एक महत्वपूर्ण कार्यक्रम सुरु हुनुअघि नै स्थगित गरिएको छ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा समपूरक, विशेष तथा सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरेको थियो। तर, कार्यक्रम सुरु हुनु अघि नै दलहरूबीच विवाद चर्किएपछि कार्यक्रम सञ्चालन नै हुन सकेन।
कार्यक्रममा सहभागी हुन पुगेका माओवादी केन्द्रका सांसद विन्दमान विष्टका अनुसार, दलहरूबीचको असमझदारीका कारण कार्यक्रम सुरु नै हुन नसकेको हो। एमालेका एक सांसदले भने नेपाली कांग्रेसकै अवरोधका कारण कार्यक्रम स्थगित भएको दाबी गरे।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले नेपाली कांग्रेसले सत्ता साझेदारीको भावनाअनुसार व्यवहार नगरेको भन्दै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको थियो। कांग्रेसका सांसदहरूले पनि आफूहरू बेवास्तामा परेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका थिए।
बिहीबार एमाले संसदीय दलको बैठकले कांग्रेसको भूमिकालाई गठबन्धनको सहकार्य भावना विपरीत रहेको निष्कर्ष निकालेपछि कांग्रेसका सांसदहरू रुष्ट बनेका थिए। कांग्रेसका एक सांसदले आफू कार्यक्रम स्थलमा पुग्ने क्रममा विवाद सुरु भइसकेको बताएका छन्।
साझेदार दलहरूबीचको यो विवादले कर्णाली प्रदेश सरकारभित्र गहिरिँदो अविश्वास झल्काएको छ।

डोल्पा न्यूज । २३ श्रावण २०८२, शुक्रबार १९:०१