ताजा समाचार

डोल्पाको त्रिपुरासुन्दरीमा दिगोपन र निर्गमन नीति विषयक संवाद सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा,असाेज २ गते । त्रिपुरासुन्दरी नगरपालिकामा दिगोपन र निर्गमन नीति सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आयोजनामा, त्रिपुरासुन्दरी नगरपालिकाको समन्वय तथा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ को सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा न्यायिक समिति संयोजक एवम् उपप्रमुख देवी घर्तीको अध्यक्षता र नगर प्रमुख जनचन्द्र रोकायाको प्रमुख आतिथ्य भएकाे थियो। वडा अध्यक्ष, कार्यपालिका सदस्य, मेलमिलाप केन्द्रका प्रतिनिधि तथा स्थानीय नागरिकको समेत सहभागिता रहेको कार्यक्रममा न्यायिक समिति मार्फत प्रदान गरिने कानुनी प्रक्रियाका विभिन्न विषयमा छलफल भएको थियो।

परियोजना संयोजक भीम बहादुर नेपालीका अनुसार संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ मार्फत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धी विविध कार्यक्रम सञ्चालन भइरहेका छन्। उनका अनुसार हालसम्म ८ हजारभन्दा बढी नागरिकलाई कानुनी सचेतना दिने लक्ष्य लिइएको छ। यस क्रममा मेलमिलाप केन्द्र स्थापना, सचेतनामूलक मेला, पर्चा–पम्पलेट, वक्तृत्व प्रतियोगिता र लोकगीत प्रतियोगितासहितका गतिविधि सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइएको  थियाे ।

कार्यक्रममा जिल्ला अदालत डोल्पाका बैतनिक वकिल अधिवक्ता पूर्ण प्रसाद हमालले दिगोपन र निर्गमन नीतिका विषयमा प्रस्ट्याएका थिए। उनले न्यायिक समिति र अदालतबाट प्रदान हुने कानुनी सेवाबारे पनि जानकारी दिएका थिए। पत्रकार टेक बहादुर शाहीले स्थानीय सरकारलाई जनताको आवश्यकता अनुसार स्थानीय कानुन निर्माणमा जोड दिन सुझाव दिए।

नगर प्रमुख जनचन्द्र रोकायाले सरोकारवाला निकायसँगको निरन्तर छलफलमार्फत नगरपालिका भित्रैका आवश्यकतामा आधारित कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सबै नागरिकलाई न्यायिक पहुँचमा पुर्‍याउन नगरपालिका विभिन्न सचेतनामूलक कार्यक्रम अघि बढाउँदैछ।

न्यायिक समिति संयोजक एवम् उपप्रमुख देवी घर्तीले विभिन्न गाउँ–बस्तीमा पुगेर न्यायिक गतिविधि सञ्चालन गर्दै आएको बताइन्। उनले नगरभित्रका सबै नागरिकलाई न्यायिक सेवामा पहुँच दिलाउने मुख्य उद्देश्य रहेको पनि स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया