काठमाडौँ —भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ ।
पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्री, कर्णेल सोफिया कुरेसी र विङ कमान्डर व्योमिका सिंहले अपरेसनको विवरण सार्वजनिक गरेका थिए । उनीहरूका अनुसार भारतीय सेनाले बुधबार बिहान १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म हमला गरेको हो । पाकिस्तानका ९ स्थानमा रहेका ‘आतंककारी संरचना’ लाई निसाना बनाइएको भारतको दाबी छ ।
लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्ष्य गरिएको थियो । भारतीय सेनाकी विङ कमान्डर सिंहका अनुसार मुजफ्फराबादस्थित सवाई नल्लाह र सेधना बिलाल क्याम्प, कोटलीस्थित मर्काज अब्बास र मस्कर राहिल शाहिद गुलपुर क्याम्प तथा भिम्बेरस्थित मर्काज अहल हादिथमा हवाई हमला गरिएको थियो । सियालकोटस्थित सरिजल र मेहमुना जोया क्याम्प, बहावलपुरस्थित मर्काज सुबहन अल्लाह र मुरिदकेस्थित क्याम्पलाई पनि भारतीय सेनाले निसाना बनाएको थियो ।
मुजफ्फराबाद पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो । कोटली र भिम्बेर भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा ‘एलओसी’ नजिकै पर्छन् । कश्मीरबाट ४८ किलोमिटरमा पर्ने सियालकोट र १ सय १५ किलोमिटरमा पर्ने शकरगढ पञ्जाब प्रान्तका सहर हुन् ।
पञ्जाब प्रान्तकै बहावलपुर र मुरिदके क्रमशः ५ सय ५७ र १ सय ९२ किलोमिटरको दूरीमा छन् । ‘पहलगाम हमलाको प्रत्यक्ष बदलामा आतंकवादीका ९ क्याम्पलाई लक्ष्य गरी हमला गरिएको हो र ती सबै ध्वस्त भएका छन्,’ सिंहले भनिन् । पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जना मारिएको र ५७ जना घाइते भएको पुष्टि गरेका छन् ।

डोल्पा न्यूज । २५ बैशाख २०८२, बिहीबार १०:२३