विष्णुप्रसाद देवकोटा
डोल्पा ।हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ मुहूद्वारा आयोजित प्रथम वडा कप खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गतको भलिबल तर्फको उपाधि त्रिपुरासुन्दरी–१ ले ऐतिहासिक रूपमा हात पारेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा त्रिपुरासुन्दरी–१ ले त्रिपुरासुन्दरी–६ लाई सोझो तीन सेटमा (२५–१७, २५–२२, २५–२३) पराजित गर्दै पहिलो पटक ट्रफी जितेको हो। यस जितसँगै वडाभर हर्षोल्लासको माहोल छ — गाउँलेहरूले यसलाई “हिमालमै रमाएको उत्सव” का रूपमा मनाएका छन्।
यसअघि सेमिफाइनलमा त्रिपुरासुन्दरी–१ ले आयोजक ‘A’ मुहूंलाई पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो भने त्रिपुरासुन्दरी–६ ले त्रिपुरासुन्दरी–८ लाई हराउँदै उपाधिका लागि भिड्ने अवसर पाएको थियो।
विजेता टिमले नगद रु. ५०,५०५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता त्रिपुरासुन्दरी–६ ले रु. ३०,३०५, र तृतीय त्रिपुरासुन्दरी–८ ले रु. १५,१०५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यो ट्रफी त्रिपुरासुन्दरी–१ का लागि पहिलो ऐतिहासिक उपलब्धि हो। स्थानीय खेलाडी र बासिन्दाहरूले यस जितलाई गाउँको गौरव र सामूहिक परिश्रमको फल मानेका छन्।
उल्लेखनीय कुरा के छ भने, वडा नं. १ का खेलाडीहरूलाई प्रोत्साहनस्वरूप स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी, पूर्व खेलाडी र स्थानीय व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए। सहयोगको भावनाले खेलाडीहरूमा आत्मबल बढाएको र जितप्रतिको प्रेरणा थपेको स्थानीय युवा नेता जयनन्द उपाध्याय ( जयस)ले बताए ।
तर, स्थानीयहरूका अनुसार यस्ता प्रतिभाशाली खेलाडीहरू अझै पनि खेलमैदानको अभाव, प्रशिक्षण सुविधाको कमी र खेल सामग्रीको न्यूनता जस्ता चुनौतीसँग जुधिरहेका छन्।
स्थानीय प्रशिक्षकहरूले भने, “यदि उचित तालिम, खेलकुद पूर्वाधार र निरन्तर प्रतियोगिताको अवसर दिइयो भने हिमाली जिल्लाका युवाहरूले पनि राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सक्छन्,” भन्दै स्थानीय सरकारकाे ध्यानाकर्षण गराएका छन्।
यो प्रतियोगिताले डोल्पाको दुर्गम भूभागमा पनि खेलकुदप्रतिको चेतना, एकता र ऊर्जा फैलाएको छ। त्रिपुरासुन्दरी–१ को यो विजय केवल खेलमैदानको जित होइन, हिमालको काखबाट देशलाई सम्भावनाको सन्देश दिने ऐतिहासिक पल बनेको छ।
खेल समापन सामाराेहमा त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्राेकाया आयाेजक समितिका संयाेजक तथा ११ नम्वरका वडाअध्यक्ष चन्द्ररुप डसाल १ नम्वरवडाअध्यक्ष रामचन्द्र कुलाल लगायत विभिन्न वडाअध्यक्ष राजनितिकदलका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।दिपावलीकाे अवसरमा ११ नम्बर वडा कार्यालयकाे आयाेजनामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिताकाे आयाेजना भएकाे थियाे ।

डोल्पा न्यूज । २ कार्तिक २०८२, आईतवार १८:५३