विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन १५।आज बिहान करिब ७ बजे डोल्पा जिल्ला सदरमुकाम दुनै नजिकै सुख्खा भिर खस्दा एक मोटरसाइकल दुर्घटनामा परेको छ।
दुनैबाट त्रिपुराकोटतर्फ गइरहेको बागमती प्रदेश ०२–०४९ प ४८६७ नम्बरको पल्सर मोटरसाइकलमा माटोसहित ढुंगा खस्दा सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय दुनैका प्रहरी सहायक हवलदार तर्कबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–३ निवासी २६ वर्षीय मोटरसाइकल चालक रविन्द्र विक र ३९ वर्षीय हर्क विक सामान्य घाइते भएका छन्। चालक रविन्द्रको दायाँ हातमा चोट लागेको छ भने पछाडि सवार हर्क विकलाई कुनै गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ।
सडक माथिबाट एक्कासि खसेको सुख्खा माटो र ढुंगाका कारण उक्त मोटरसाइकल पूर्णरूपमा ध्वस्त भएको हो। घटनापछि सडक केही समयका लागि अवरुद्ध बनेको थियो। हाल एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको स्थानीय प्रशासनले जनाएको छ।
सडक क्षेत्रमा यस्ता सुख्खा भिर खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

डोल्पा न्यूज । १५ श्रावण २०८२, बिहीबार ०८:१६