ताजा समाचार

डाेल्पाकाे छार्का ताङसोङ गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु

विष्णुप्रसाद देवकोटा 

छार्का (डोल्पा), साउन २१ गते ।आर्थिक पारदर्शिता र उत्तरदायित्वपूर्ण स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले छार्का ताङसोङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरूको वार्षिक प्रगति समिक्षा कार्यक्रम बुधबारदेखि  औपचारिक रूपमा सुरु गरेको छ।

बिहीबार ( आज)सम्म सञ्चालन हुने उक्त समिक्षा कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष श्री सेनाङ गुरुङले गरे। उद्घाटन मन्तव्यमा अध्यक्ष गुरुङले समिक्षा कार्यक्रममार्फत पालिकाको समग्र प्रगतिको मूल्यांकन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिने बताए।

कार्यक्रमको पहिलो दिनमा प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखा, स्वास्थ्य तथा सरसफाइ शाखा, आर्थिक विकास शाखा, साथै सबै वडा कार्यालयहरूबाट आ–आफ्नो क्षेत्रगत प्रगतिहरू प्रस्तुत गरिएको थियो। प्रस्तुतिकरणमार्फत आ–आफ्नो जिम्मेवारी क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र भावी योजनाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरिएको छ।

दोस्रो दिन आज अन्य विभागीय शाखा र उपशाखाहरूको प्रगति विवरण प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

स्थानीय तहको उत्तरदायित्वमूलक कार्यप्रणाली र जनउत्तरदायी शासन सुदृढ गर्न यो प्रकारको वार्षिक समिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पालिकाले लिएको छ।

तपाईको प्रतिक्रिया