ताजा समाचार

नेपाल शिक्षक संघ डोल्पाको दशौं जिल्ला प्रतिनिधि सभा सम्पन्न

गुणस्तरीय शिक्षाकाे आधार, मर्यादित शिक्षण पेसाकाे पुर्वाधार” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ डोल्पाको दशौं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ। नेपाली कांग्रेसको जिल्ला नेतृत्वको विशेष उपस्थितिमा उक्त सभा ठूलिभेरी नगरपालिका, जुफालस्थित सभाहलमा सम्पन्न भएको हो।

सभाको उद्घाटन जिल्ला समन्वय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि श्यामबहादुर रोकायाले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोकायाले नेपाली कांग्रेस डोल्पामा कुनै गुटउपगुट नभएको र भविष्यमा पनि नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपाली कांग्रेसलाई गर्व गर्न लायक पार्टी भएको उल्लेख गर्दै पद प्राप्त गर्नु मात्र ठूलो कुरा नभई, त्यसको सफल र कुशल निर्वाह नै महत्त्वपूर्ण हुने बताउनुभयो।

नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरूको संख्या थोरै भए पनि गुणात्मक रूपमा सशक्त रहेको भन्दै उहाँले व्यक्ति होइन, संस्थागत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, कुनै पनि शुभेच्छुक वा भातृ संस्थाले एकअर्कालाई प्रतिस्पर्धी रूपमा नभई परस्पर सुधारको दृष्टिकोणले हेर्ने हो भने संगठनलाई अझ मजबुत बनाउन सकिने उहाँको धारणा थियो।

पार्टी एकता र संगठन सुदृढीकरणमा जोड

कार्यक्रममा नेपाली कांग्रेसका कावा (कार्यवाहक) सभापति लबकुमार शाहीले जिल्लामा पार्टी सुदृढ रहेको बताउँदै कतिपय नेताकार्यकर्ताहरूले कांग्रेस कमजोर छ भन्ने धारणा सार्वजनिक गरिरहेका भए पनि वास्तविकता त्यस्तो नभएको स्पष्ट पार्नुभयो। उहाँले अबदेखि “पार्टी कमजोर छ” भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्दै समन्वय, सहकार्य, र आपसी एकताको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।

पार्टी सचिव हिक्मत शाहीले शिक्षकहरूको हकहित र सुरक्षाका लागि कांग्रेस पार्टी सधैं तयार रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेस जस्तो ठूलो जनाधार भएको पार्टीले आफ्नो भूमिका पूरा नगरेको नभई, उचित ढंगले प्रस्तुत हुन नसकेको मात्र हो भन्ने धारणा व्यक्त गर्दै उहाँले नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरूमाथि अन्याय हुन नदिने प्रतिबद्धता जनाउनुभयो। यदि कुनै पनि शिक्षक संघका सदस्यहरूलाई अन्यायमा पार्ने वा दबाउने प्रयास भए, पार्टीले त्यसको प्रतिकार गर्ने स्पष्ट संकेत दिनुभयो।

शिक्षकका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

नेपाली कांग्रेसका महासमिति सदस्य जयनन्द (जयस) उपाध्यायले कांग्रेस अन्य कम्युनिस्ट पार्टीहरू जस्तो अनुशासनहीन नभई विधि, विधान, नीति र पद्धतिमा आधारित रहेर काम गर्ने पार्टी भएको उल्लेख गर्नुभयो। साथै, स्थानीय तहबाट शिक्षकहरूप्रति हुने हेपाहा प्रवृत्तिलाई रोक्न सबैले संगठित रूपमा डटेर सामना गर्नुपर्ने बताउनुभयो।

उहाँले दिनमा कांग्रेस र रातमा अन्य पार्टी (माओवादी वा एमाले) बन्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भएकाले यस्ता कार्यकर्ताहरूको सक्रिय सदस्यता नवीकरण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

शिक्षक संघ र पार्टीबीचको सहकार्य आवश्यक

कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर प्रत्याशी चन्द्रलाल धराला, नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि गौरीशंकर उपाध्याय, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मण कार्की, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष दिर्घ आरसी, युनियनकै केन्द्रीय महाधिवेशन प्रतिनिधि दलबहादुर बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुसलविक्रम शाही, नेपाल तरुण दलका तुलबहादुर बोहोरा, कांग्रेसका पूर्व जिल्ला सभापति सुवर्ण शाही, शिक्षक दमोधर ज्ञावली र औसत न्यौपाने लगायतका नेताहरूले शिक्षकहरूका समस्या, कांग्रेस पार्टीको भूमिकाका साथै संगठन सुदृढीकरण र विस्तारका विषयमा आ-आफ्ना धारणा राख्दै सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

नेपाल शिक्षक संघका अध्यक्ष कमलबहादुर महताराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संघका सचिव पूर्णकेशर न्यौपानेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्ध शिक्षक तथा कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया