ताजा समाचार

विद्यार्थीलाई बालविवाह रोकथाम र लागुऔषध दुर्व्यसन न्युनीकरणबारे अभिमुखीकरण

डाेल्पान्युज डेक्स

डाेल्पा, भदौ १७ – ठूलीभेरी नगरपालिका–६ थरगाउँस्थित लक्ष्मी माध्यमिक विद्यालयका बालबालिकालाई बालविवाह राेकथाम र लागुऔषध दुर्व्यसनबारे अभिमुखिकरण गरिएकाे छ ।कक्षा ८, ९ र १० मा अध्ययनरत ३४ जना विद्यार्थीलाई सोमबार अभिमुखीकरण कार्यक्रम गरिएकाे हाे ।

बालविवाह विरुद्ध साझा अभियान सञ्जाल डोल्पा र अस्थायी प्रहरी चौकी थरगाउँको संयुक्त सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको थियो।बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश सचिवालय सदस्य तथा गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश सचिव रणबहादुर कार्कीले बालविवाह, लैङ्गिक तथा घरेलु हिंसा, त्यसका नकारात्मक प्रभाव, कानुनी व्यवस्था र सामाजिक अभ्यासबारे सहभागी बालबालिकालाई प्रकाश पारेका थिए।

त्यसैगरी प्रहरी हवल्दार विपिन कुमार रावतले लागुऔषध दुर्व्यसनका प्रकार, यसको प्रभाव, नीतिगत र संरचनागत व्यवस्थाबारे जानकारी दिएका थिए।

कार्यक्रममा ३४ जना विद्यार्थी,तीन सरक्षाकर्मी  र एक जना साझा अभियान सञ्जालको तर्फबाट सहभागिता थियो। विद्यार्थीको सक्रिय सहभागिता रहेको कार्यक्रममा एकापसमा छलफल, प्रश्नोत्तर तथा अन्तरक्रियात्मक विधिमार्फत प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया