ताजा समाचार

उच्च अदालत सुर्खेतको गेटमै निर्मलाले आत्मदाहको प्रयास गरिन्…

पुर्ण सार्की/ सुर्खेत। उच्च अदालत सुर्खेतको गेटमा आफ्नो श्रीमानको हत्यारालाई कारवाहीको माग राख्दै तीन दिन देखि धर्नामा बसेकी एक महिलासँगै उनकी बहिनीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमानको हत्यारालाई उन्मिक्ति नदिन माग गर्दै अदालत अगाडी धर्नामा बसेकी जाजरकोट जुनीचाँदे गाउँपालिका–६ मैपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी सर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाजरकोट जिल्ला अदालतले रामबहादुर शाहीको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पूर्पपक्षका लागि कारागार पठाउन आदेश दिइ सकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत सुर्खेत अगाडी धर्नामा बसेकी हुन् ।

शान्तिपूर्ण रुपमा धर्नामा बसिराखेकी निर्मला शाही र उनकी बहिनी शर्मिला शाहीले आज एक्काशी पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

गत माघ १७ मा निर्मलाका ४२ वर्षीय श्रीमान् राम बहादुर शाहीको जुनिचाँदेस्थित काहाँरे खोलामा कुटपिटबाट मृत्यु भएको थियो । श्रीमानको कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग राख्दै उनी आफ्नो छोरा सगै केहीदिन देखि अदालत अगाडि धर्नामा बसिरहेकी थिइन् ।

खास के हो घटना ?

गत माघ १८ गते जुनीचाँदे गाउँपालिका–६ मइपका रामबहादुर शाहीको हत्या भएको थियो । शाही माघ १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए ।

खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएका हुन् । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान अगाडी बढाएको हो ।

घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट देखिएको प्रहरीले प्रारम्भीक अनुसन्धानको क्रममा बताएको थियो ।

अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरेर उनीहरु विरुद्ध जाजरकोट जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हो ।

प्रहरीले रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र १ नाबालकलाई पक्राउ गरेको थियो ।

जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।

दुई लाख ५० हजारमा रत्न र एक लाख मैसराबाट धरौटी रकम माग गरेर अदालतले उनीहरुलाई छोडन आदेश दिएको जाजरकोट जिल्ला अदालतका सूचना अधिकारी रामसिंह ठकुरीले जानकारी दिए । उनकाअनुसार साधारण धरौटीमा रेशम, राम , मैसरा र परिवर्तित नामथर ६३ मै.प भन्ने १५ वर्षीय नाबालकलाई अदालतले छाड्ने आदेश दिएको थियो ।

थुनछेक बहसपछि पूर्पपक्षका लागि तुलाकुमारी, बीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारी ठकुरीको भनाई छ । उनकाअनुसार मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।

रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरुलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।

निर्मलाले विभिन्न आठ बुदे माग राख्दै उच्च अदालत अगाडी मंगलबार देखि धर्नामा बसेकी थिइन् । ‘जिल्ला अदालतको आदेश चित्त नबुझेपछि धरौटी छुटेकाहरुलाई थुनामा राखी पाउ भनेर ७३ नम्बर अन्तरगत मुद्दा अहिले उच्च अदालत सुर्खेतमा मा विचाराधिन छ,’ उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले भने, ‘उहाँले दिनु भएको निवेदन प्रक्रियामा छ, जिल्ला अदालतबाट कैफियत माग भइसकेकाले प्रक्रियागतमा गइसकेको छ । दुवै पक्षलाई जानकारी दिनुपर्ने अदालती प्रक्रियाका कारण पेशी तोकेर थप प्रक्रिया अघि बढ्छ ।’

तपाईको प्रतिक्रिया