पुर्ण कुमार/ डोल्पा न्युज
डोल्पा, असार १८
डोल्पा। हिमाली जिल्ला डोल्पाको छलगाड खोलामा आएको बाढीमा रात्रिकालीन बस् फसेको छ। आज दिउँसो सदरमुकाम दुनै देखि नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १७९८ नं को बस् त्रिपुरासुन्दरी नगरपालिका ०१ त्रिपुराकोट स्थित छलगाड खोलामा एक्कासी आएको बाढीमा परी फसेको हो।
खोलामा बस गुड्दै गर्दा एक्कासी खोलाको बहाव बढेपछि गाडी फसेको थियो। फसेको केही क्षणमा सानो डोजर लगाई केही छेउ सम्म पुर्याउने काम गरिएता पनि केही छिन पछि खोलाले तिब्र गति लिए सगै उद्धारमा समस्या भएको थियो ।
बसमा सवार ३४ जनालाई भने त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रमेश बहादुर सिंह सहितको टोली , डोल्पा फोक्सुण्डो यातायात समितिका पदाधिकारीहरु र स्थानीयको सहयोगमा समयमै उद्दार गरिएको छ।
खोलाको बहाव बढि रहेकै कारण बसमा भएको क्षति विवरण भने आउन सकेको छैन। यद्यपि बसको डिकीमा एउटा खसी रहेको बताइएको छ भने बसको छतमा राखिएको सामान र बस् भित्र राखिएको ३ बोरा दाल र आलु समेत क्षति भएको हुन सक्ने प्रहरी नायब निरीक्षक सिंहले बताएका छन् ।
सिंहका अनुसार खोलाको बहाव कम भएपछि स्थानीय सरकार सग समन्वय गरेर बसलाई भोलि बिहान सम्म उद्धार गरिने भएको छ। राति परेको कारण आज उद्धारमा समस्या भएको उनको भनाइ छ।
भेरी करिडोर सडक खण्ड अन्तरगत पर्ने युक्त ठाउँमा समयमै पक्की पुल निर्माण नहुँदा दैनिक नागरिकले सास्ती खेप्नु परेको छ। यहाँ मात्रै होइन अहिले भेरिकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड ११८ किलोमीटर भित्र पर्ने खोलामा पक्की पुल निर्माणमा कसैले चासो नदिँदा नागरिकले सास्ती खेपिरहेका छन्।
सडक खण्ड अन्तर्गत पर्ने धेरै जसो खोलाहरुमा पक्की पुल निर्माणको लागि केही निर्माण कम्पनीले ठेक्का समेत पाइसकेका छन। यसरी ठेक्का पाएको वर्षौ बितिसक्दा समेत निर्माण कम्पनीले काम सुरु नगर्दा बर्खाको समयमा डोल्पाका नागरिकले दैनिकी सास्ती खेप्नु परेको छ।