ताजा समाचार

डाेल्पाकाे मुडेकेचुलामा एक महिनादेखि  टेलिफोन सेवा अवरुद्ध, समाधानका लागि सहयोग माग

विष्णुप्रसाद देवकोटा

डोल्पा । मुडेकेचुला गाउँपालिकामा सञ्चालित टेलिफोन सेवा अवरुद्ध भएकाे एक महिना वित्तिसक्दा समेत सुचारु भएकाे छैन ।लामाे समयदेखि  अवरुद्ध टेलिफोन सेवा सुचारु गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग सहयोग माग समेत गरेकाे छ  ।

गाउँपालिकाले पठाएको पत्र अनुसार छिमेकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित गोठामकोटबाट प्रसारण हुँदै आएको सेवा गत एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको हो। टेलिफोन सेवा अवरुद्घ भएपछि  स्थानीयवासीलाई दैनिक सम्पर्क र सूचनामा समस्या परेको गाउँपालिकाले जनाएको छ।

 मुडेकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले भने, “एक महिनादेखि फोन सेवा ठप्प हुँदा यहाँका जनताले निकै समस्या भोगिरहेका छन्।

तत्काल चाडबाड पनि नजिकिँदैछ, तर सेवा सञ्चालन नहुँदा जनजीवन कष्टकर भएको छ। यसलाई चाँडै सुचारु गराउन सबै निकायसँग गम्भीर ध्यानाकर्षण गराएका छौं।” अध्यक्ष शाहीले भने ।

गाउँपालिकाले पत्रमार्फत जिल्ला प्रशासन कार्यालय डोल्पा र रुकुम पश्चिम, नेपाल टेलिकम कार्यालय तथा क्षेत्रीय दूरसञ्चार कार्यालय सुर्खेतसँग आवश्यक पहल गरी टावर जडान गर्ने कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।

गाउँपालिकाले आसन्न महान चाड दशैं तिहारलाई दृष्टिगत गर्दै सेवा छिट्टै सुचारु गर्न सके स्थानीयवासीलाई राहत हुने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया