काठमाडौं । शिक्षकहरुलाई पठनपाठमा मात्रै केन्द्रीत हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण शिक्षकहरुलाई निर्देशन दिएको छ । शिक्षकहरु पठनपाठन भन्दा दलीय राजनीतिमा लाग्दा नेपालको शैक्षिक स्तर खस्कंदै गएको र विद्यार्थीको सिकाइ कमजोर बनेको भन्दै शिक्षा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
पठनपाठन र सिकाइ क्रियाकलापमा संलग्न हुनपर्ने शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य लिएको पाइएमा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) बमोजिम कानुनी कारबाही गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कानुन विपरित दलको सदस्यता लिने र राजनीतिक गतिविधिमा सकृय हुँदा पठनपाठनमा गम्भीर असर परेको भन्दै कारबाहीको माग गर्दै मन्त्रालयमा उजुरी परेको जानकारी दिदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक र प्राध्यापकलाई दलीय आवद्धता त्याग्न पठनपाठनमा केन्द्रीत हुन निर्देशन दिएकी हुन् ।
मन्त्री श्रेष्ठले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरुले राजनीतिक दलको सदस्यता लिएको भेटिए उजुरी दिन समेत आव्हान गरिन् ।