डाेल्पान्युज डेक्स
श्रावण ०३,
काठमाण्डौ : ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयाेजकले जनाएकाे छ।
बिहिबार काठमाण्डौमा आयाेजित पत्रकार सम्मेलनमा १२ वर्षे मेलाकाे सबै तयारी पुरा भएको जानकारी गराइएकाे हाे ।
आउदाे भदाै महिनाकाे १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रमका साथै घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने खालका सांस्कृतिक प्रदर्शनी गरिने छ ।
मेलाको अवसर पारेर तिलगङ्गा आखाँ प्रतिष्ठानसँगकाे सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने पालिका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनु भयाे।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताउनु भयाे । साहसिक पर्यटनको लागि डोल्पा लुकेकाे भुमि भएकाे उहाँको भनाई थियाे ।
पत्रकार सम्मेलनमा सङ्घीय सांसद उप सभामुख इन्दिरा राना मगरले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न एकपटक डोल्पा पुग्नपर्ने बताउनु भयाे ।
उपसभामुख रानाले भन्नू भयाे” म पटक पटक डोल्पा पुगेको छु तर जति पटक डोल्पा पुग्दा पनि मन कहिले थाक्दैन” ।
उपसभामुख रानाले आफैपनि शे मेलामा हिडेरै पुग्ने र अरु सबैलाई डोल्पा सदरमुकामबाटै भएपनि हिडेर फोक्सुण्डो ताल हुदै शे मेलामा पुग्न आग्रह समेत गर्नु भयाे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसावले मात्रै नभएर साँस्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताउदै मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्ने उल्लेख गर्नु भयाे ।
खस तथा मस्टो संस्कृति, तराली संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजककाे भनाई छ ।
ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेकाे छ । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
६७ औं १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिका मेला सह आयोजकका रुपमा रहेका छन ।
प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनु भयाे ।
१२ वर्षमा एक पटक लाग्ने मेलाले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेल्ने गुरुङकाे भनाई छ ।
हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मूल्य मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई मेलाकाे माध्यमबाट विश्वसामु पहिचान गराई पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउनु यसकाे उद्देश्य रहेकाे संयाेजक गुरुङले बताउनु भयाे ।